पोखरा १२, मंसिर। पाँचथरबाट सुरु भई बैतडीको झुलाघाटसम्म जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्डमा पर्ने हरिचोकदेखि याम्दीसम्मको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। यस खण्डको निर्माण कार्य लगभग सकिन लागेको र हालसम्म ९० प्रतिशत काम पूरा भइसकेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिएका छन्। उनका अनुसार कालोपत्रेको मुख्य काम सकिएर अहिले फिनिसिङको चरणमा रहेको छ, जसले गर्दा यात्रुवाहक तथा मालबाहक सवारीसाधनहरू अब सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन्।
इञ्जीनीयर सुवेदीका अनुसार, अब सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही कामहरू मात्र बाँकी छन्, जुन कुल कामको १० प्रतिशत हो। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग विसं २०७९ साउन १४ गते भएको दुई वर्षे सम्झौता निर्माण कम्पनीको ढिलासुस्ती तथा बिजुली र खानेपानीको पाइप स्थानान्तरण जस्ता प्राविधिक समस्याका कारण तोकिएको समयमा सम्पन्न हुन सकेन। यस कारण यस खण्डको म्याद तेस्रो पटक विसं २०८३ वैशाख मसान्तसम्म थप गरिएको छ। यद्यपि, इञ्जीनीयर सुवेदीले तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित भएको दाबी गरेका छन्। लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्दै आएका स्थानीयवासी फराकिलो र सुन्दर सडक बनेसँगै उत्साहित भएका छन्। यस खण्डको निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्र, साविकका धौलागिरिका चार जिल्ला र कास्कीका उत्तर पश्चिम भेगका नागरिकहरू लाभान्वित हुने भएका छन्।

































