पोखरा ११, मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतदान केन्द्र र म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी प्रक्रिया सुरु गर्न सम्बद्ध निकायहरू तयारीमा जुटेका छन्। यसअघिको प्रक्षेपणभन्दा नयाँ मतदाताको सङ्ख्या ठूलो मात्रामा थपिएकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा अनुमान गरिएको एक लाख ३२ हजार म्यादी प्रहरीको सङ्ख्या बढाउनुपर्ने आवश्यकता देखिएको छ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले निर्वाचन सुरक्षा योजना कार्यान्वयनका क्रममा नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गर्ने र नयाँ मतदाताको सङ्ख्यालाई आकलन गरेर म्यादी प्रहरीको सङ्ख्या बढ्न सक्ने उल्लेख गरे। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी अतिरिक्त महानिरीक्षक अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र यकिन गरेपछि सुरक्षा संवेदनशीलताका आधारमा जिल्ला सुरक्षा समितिमार्फत शीघ्र म्यादी प्रहरीको भर्ना प्रक्रिया प्रारम्भ हुने बताए। उनले एकीकृत सुरक्षा योजना तथा म्यादी प्रहरी छनोटको मापदण्ड प्रदेश र जिल्लास्तरसम्म पुगिसकेकाले थप हुने मतदान केन्द्रका आधारमा जनशक्ति स्पष्ट हुने जानकारी दिए। निर्वाचनका क्रममा कूल ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानले पाउनेसरह आधारभूत तलब, लत्ताकपडा र यातायात खर्चलगायतका सुविधा पाउनेछन्। निर्वाचनका लागि नेपाल प्रहरीले ७१ हजारभन्दा बढी प्रहरी खटाउने तयारी गरेको पनि प्रवक्ता काफ्लेले बताए।
यसपटक मङ्सिर ५ गते सम्पन्न भएको मतदाता नामावली सङ्कलन कार्यमा फोटो तथा औँठाछापसहितको जैविक विवरणमार्फत तीन लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रमार्फत चार लाख ९२ हजार १८० नयाँ मतदाता थपिएका छन्। गत कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका नयाँ मतदाताको दर्तासँगै कूल मतदाता सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३ पुगेको छ। केन्द्रीय सुरक्षा समितिले निर्वाचनभन्दा पूर्व, निर्वाचनको अवधि र निर्वाचनपछि गरी तीन चरणको सुरक्षा योजना बनाएको छ। निर्वाचनका लागि सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिबाट बिहीबार नेपाली सेना परिचालनको स्वीकृति भइसकेको छ। सुरक्षाको पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा सेना रहनेछन् भने म्यादी प्रहरीले नेपाल प्रहरीलाई सहयोग गर्नेछन्।































