पोखरा २, कार्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको जेनजी आन्दोलनपछि शनिबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर राजनीतिक तथा सामाजिक विषयहरूमा आक्रामक अभिव्यक्ति दिएका छन्। उनले आफू २००७ सालपछिका सबै अवधिको सम्पत्ति छानबिन गर्न तयार रहेको भन्दै सरकारलाई चुनौती दिएका छन्। ओलीले ‘सात सालपछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं, ४६ पछिकै गरौं वा ६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं, कहिले देखिको छानबिन गर्ने हो, सम्पत्ति विवरण छानबिन गरौं’ भन्दै जुनसुकै अवधिको छानबिनका लागि आफू तयार रहेको जिकिर गरेका छन्। साथै, उनले देशभरका नेता कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध कडा रूपमा लाग्न तयारीमा जुट्न समेत आग्रह गरेका छन्।

अध्यक्ष ओलीले वर्तमान सरकारले दिनहुँ आफूलाई कसरी पक्राउ गर्ने र झुटा मुद्दा लगाउने भनेर बैठक बसिरहेको आरोप लगाउँदै सरकारको नियतमाथि प्रश्न उठाएका छन्। उनले समाजमा बेथिति बढेको र सामाजिक मूल्य मान्यता तथा मर्यादा पालना हुन छाडेका कारण २४ भदौको घटना जस्ता अराजकता फैलिएको टिप्पणी गरे। उनले यस्ता प्रवृत्तिहरूलाई संस्कृति माथिको हमलाको संज्ञा दिँदै ‘विध्वंस केही घण्टामा गर्न सकिन्छ’ भन्ने तितो सत्य देखिएको उल्लेख गरे। यसै क्रममा ओलीले सामाजिक सञ्जालमा चलिरहेको नेपो बेबी ट्रेन्ड र मि टू अभियानको पनि कडा आलोचना गरेका छन्। नेपो बेबी ट्रेन्डलाई उनले कलिलो बाल मनोविज्ञानमाथि भयानक आक्रमण भनेका छन् भने मि टू अभियानलाई हावा र ‘नचाहिने कुरा’ भन्दै यस्ता कुरा सिक्न नहुने टिप्पणी गरेका छन्।

जेनजी विद्रोहको नाममा आगलागी र भयानक क्षति भएको र देश नै ‘ट्रमा’को स्थितिमा रहेको ओलीले बताएका छन्। उनले एमाले देशमा शान्ति र सुशासन स्थापना गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान सरकारलाई शान्तिको कुरा गर्दा रिस उठ्ने गरेको भन्दै कटाक्ष गरे। राजनीतिक विषयमा, उनले जनमतबाट आएको संसद्लाई विघटन गर्ने अधिकार कसले दियो भन्दै आपत्ति जनाएका छन्। उनले यस कार्यलाई ‘प्रतिगमन’ भन्दै यसलाई सच्याउन र प्रतिनिधिसभाको अभिलम्ब पुनःस्थापना हुनुपर्नेमा जोड दिएका छन्। साथै, ओलीले वर्तमान सरकारको जग नै नभएको जिकिर गर्दै फागुनमा चुनाव गर्ने भन्नु ‘दुनियाँलाई ढाँटेको’ मात्र भएको र चुनाव नहुने ठोकुवा गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0