पोखरा १९, असोज। लगातारको वर्षाका कारण सवारी आवागमन बन्द भई चितवन जिल्लाका विभिन्न ठाउँमा अलपत्र परेका यात्रुहरूलाई जिल्लाका होटेल तथा लजहरूले ७५ प्रतिशत छुट दिने भएका छन्। शनिबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरूसहित सम्पन्न बैठकले यस्तो महत्त्वपूर्ण निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले चितवन प्रवेश गरेका तर गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई जिल्लाभरका सबै प्रकारका होटेलको कोठा भाडामा उक्त छुट लागू हुने जानकारी दिनुभयो।

निर्णय कार्यान्वयन भए नभएको अनुगमन गर्न होटेल सङ्घ चितवन र जिल्ला प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको सीडीओ अर्यालले बताउनुभयो। होटेल व्यवसायी सङ्घका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण) ले अलपत्र यात्रुहरूले छुट सुविधाका लागि आफूलाई ९८५५०१४१८० मा सम्पर्क गर्न सक्ने जानकारी दिएका छन्। उनले बाध्यता हेरेर कतिपयलाई निःशुल्क बस्ने व्यवस्था समेत गरिने प्रतिबद्धता व्यक्त गरे। क्षेत्रीय होटेल सङ्घ सौराहाका उपाध्यक्ष सुवासचन्द्र गौतमले भने आफ्नो निजी होटेलमा अलपत्र परेका ४० जनालाई दैनिक निःशुल्क सेवा दिने बताउँदै अन्यलाई प्रशासनको निर्देशनअनुसार ७५ प्रतिशत छुट दिने बताए। मुग्लिन, नारायणगढ, भरतपुर, टाँडी, पर्सा लगायतका क्षेत्रमा अलपत्र यात्रुहरूले प्रहरीसँगको समन्वयमा यो छुट सुविधा लिएर होटेलमा बस्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0