पोखरा १९, असोज। शुक्रबार रातिदेखि सुरु भएको र शनिबार बिहानबाट देशैभर फैलिएको निरन्तरको भारी वर्षाका कारण देशभरको जनजीवन नराम्ररी प्रभावित बनेको छ। दशैं मनाउन घर पुगेका र कार्यालय खुल्ने भएकाले कर्मथलो काठमाडौं फर्कने क्रममा रहेका हजारौं यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्। देशका मुख्य–मुख्य राजमार्गहरू नै पूर्ण रूपमा अवरुद्ध हुँदा यातायात प्रणाली अस्तव्यस्त बनेको छ। यसैबीच, आइतबारबाट कार्यालय खुल्ने र काठमाडौं आइपुग्ने बाध्यतामा रहेकाहरूको समस्यालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस निर्णयले अलपत्र परेका र दशैं मनाएर जन्मथलो पुगेकाहरूलाई ठूलो राहत मिलेको छ।

गृह मन्त्रालयका अनुसार, उपत्यका प्रवेश गर्ने कोशी, पृथ्वी, बीपी, अरनिको, सिद्धिचरण लोकमार्ग, कुलेखानी सडकखण्ड, पासाङ ल्हामु सडकखण्ड लगायतका प्रमुख राजमार्गहरू पूर्ण रुपमा अवरुद्ध भएका छन्। विशेषगरी बीपी राजमार्गमा गत वर्षको बाढीपछि बनाइएका डाइभर्सनहरू धेरैजसो बगाएको छ। रोशी र नमोबुद्धको सिमाना चौकीडाँडादेखि रोशीका विभिन्न स्थान (घुमाउने, चारसयबेशी मुनीको भाग, गिम्दीबेशी, स्याउलेबजार माथीको भाग, नार्के, बोक्सीकुना, डालाबेशी, पिप्ले, बुलढुंगा, माम्ती) मा सडक कटान भएको छ। यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने तुइन खोलामा पनि निरन्तर ढुंगा खस्ने क्रम जारी छ, जसले गर्दा अहिले चितवन भएर जाने सबै सवारी साधनको आवागमनमा रोक लगाइएको छ। सरकारले राजमार्गमा अलपत्र परेका यात्रु र सवारी साधनलाई सकेसम्म चाँडो सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाएको गृह मन्त्रालयले जनाएको छ। साथै, काभ्रेको धुलिखेल, चितवन र कोशी राजमार्गका विभिन्न होटलहरूले अलपत्र यात्रुहरूलाई खाना र बासको प्रबन्ध मिलाउन थालेका छन्।

यस विपद्को समयमा पनि सरकारले विभिन्न निकाय (जल तथा मौसम पूर्वानुमान महाशाखा, विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, ऊर्जा एवं भौतिक मन्त्रालय) को समन्वयकारी भूमिकासतर्कताका कारण अहिलेसम्म ठूलो मानवीय क्षति भने हुन पाएको छैन। यद्यपि, केही दुखद घटनाहरू भने भएका छन्। पाँचथरको कुम्मायक गाउँपालिकामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु र ६ जना घाइते भएका छन्। ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनामा परेको हो। यस्तै, रसुवाको गोसाईंकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाउँदा भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना (संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगिता श्रेष्ठ र रवि श्रेष्ठ) बेपत्ता भएका छन्। रौतहटको कटहरिया नगरपालिका–२ मा चट्याङ लागेर दुई जना १६ वर्षीय किशोरको मृत्यु भएको छ भने रौतहटमा अविरल वर्षाका कारण बस्ती र सरकारी कार्यालयहरू पनि डुबानमा परेका छन्।

मौसमविद् तथा विशेषज्ञहरूले आइतबार बिहानसम्म भीषण वर्षाको सम्भावना कायमै रहेको र संकटको उच्च जोखिम नटरेको चेतावनी दिएका छन्। पछिल्लो २४ घण्टामा मधेशको पश्चिमी भाग (पर्साको कालिकामाईदेखि रौतहटको गौरसम्म) मा अति भारी वर्षा (२ सय मिलिमिटर भन्दा बढी) भएको छ, जसमा रौतहटको महेशपुरमा सबैभन्दा बढी २७७ मिलिमिटर वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अहिलेको रेड अलर्ट कायमै रहेको र आइतबार बिहानबाट वर्षाको प्रणाली पूर्वी नेपालतर्फ सर्ने भन्दै इलाम र झापासम्म जोखिमबाट बच्ने पूर्वतयारी थाल्न सुझाव दिएका छन्। अविरल वर्षा र मौसममा सुधार नआएपछि आन्तरिक हवाइ उडानहरू पूर्ण रूपमा ठप्प भएका छन् भने केही अन्तर्राष्ट्रिय उडानहरू पनि डाइभर्ट भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0