पोखरा, ११ असोज। नेकपा (माओवादी केन्द्र) को दुईदिने केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्तावअनुसार केन्द्रीय समिति भङ्ग गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कमिटीलाई भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी गठन गरिएको छ। यसैगरी, पार्टी पदाधिकारीहरूलाई सोही आयोजक कमिटीको सचिवालयमा रूपान्तरण गरिएको छ। यो निर्णयले पार्टीलाई नयाँ संरचनामा ढालेर थप गतिशीलता प्रदान गर्ने लक्ष्य लिएको छ। बैठकले पार्टीलाई सुदृढ गर्नका लागि विभिन्न महत्वपूर्ण निर्णयहरू पनि पारित गरेको छ। यसमा विशेषगरी पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न एक शक्तिशाली आयोग गठन गर्ने र ‘नेपोटिज्म’ (नातावाद) को आरोपलाई सम्बोधन गर्न पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने कार्यविधि बनाउने कुरा उल्लेख छ।

माओवादी केन्द्रले पार्टीको सँस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने निर्णय पनि गरेको छ। यसबाहेक, युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न ‘जेन-जी’ लाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गराउने र उनीहरूलाई प्राथमिकता दिने नीति लिएको छ। पार्टीको आईटी कामलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि निर्णय भएको छ। बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरिए पनि वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका प्रस्तावहरूलाई पनि महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचन गराउन अन्तरिम सरकारलाई सहयोग गर्ने निर्णय पनि गरिएको छ। साथै, पार्टीको वैचारिक आधार र सांगठनिक संरचनालाई थप बलियो बनाउन विचार मिल्ने विभिन्न राजनीतिक दलहरूसँग एकता गर्ने नीति लिइएको छ। यसले माओवादी केन्द्रलाई राष्ट्रिय राजनीतिमा अझ बलियो बनाउने दिशामा लैजाने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0