पोखरा, ३ साउन। नेपाली कांग्रेसका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफूलाई पार्टीको भावी सभापति पदको स्वाभाविक दाबेदारको रूपमा प्रस्तुत गरेका छन्। राष्ट्रिय समाचार समिति (रासस) सँग शनिबारको कुराकानीमा सिंहले नेता कार्यकर्ताहरूले आफूलाई सभापति हेर्ने चाहना व्यक्त गरेको जनाउँदै सो संकेत गरेका हुन्।

सिंहले पार्टीमा सामान्य कार्यकर्ता हुँदै शीर्ष तहसम्मको जिम्मेवारी सम्हालेको स्मरण गर्दै अब सभापतिमा दाबी गर्नु अस्वाभाविक नहुने धारणा राखे। काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री, उपसभापति जस्ता जिम्मेवारी सम्हालिसकेको र सभापति पदमा एकपटक प्रतिस्पर्धा गरिसकेको अनुभव सुनाउँदै उनले भने, “अब मेरो दाबेदारी कुन पदमा रहला भन्ने अनुमान तपाईंहरू आफैं गर्न सक्नुहुन्छ।”

उनले विभिन्न जिल्ला भ्रमणका क्रममा नेता कार्यकर्ताबाट आफूलाई सभापतिका रूपमा हेर्ने चाहना प्रकट गरिएको समेत बताए। सिंहले वर्तमान जिम्मेवारीहरू सधैँ इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै अबको यात्राको सन्दर्भमा पनि पार्टीका साथीहरूसँग गहन छलफल भइरहेको जानकारी दिए।

सिंहले आफ्नो राजनीतिक यात्राको प्रारम्भिक काल खण्ड सम्झिँदै, प्रारम्भमा सांसद वा मन्त्री बन्ने आकांक्षा नभई तानाशाही अन्त्य र जनतालाई अधिकार सम्पन्न बनाउने लक्ष्य लिएर राजनीतिमा प्रवेश गरेको बताए। उनले विगतका चुनौतीपूर्ण समयको पनि स्मरण गरे, जब धरपकड र गिरफ्तारी सामान्यजस्तै थियो।

राजतन्त्रकालीन शासन व्यवस्था र प्रजातन्त्रमाथि पटकपटक भएका प्रहारहरूको प्रतिरोधमा आफूले खेलेको भूमिकालाई स्मरण गर्दै उनले लोकतन्त्रका पक्षमा सधैं अडिग रहने प्रतिबद्धता दोहोर्याए। “राजनीतिमा चुनौती हरक्षण आइरहन्छन्,” उनले भने, “तर हामी त्यसलाई पार गर्दै अगाडि बढिरहेका छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0