पोखरा, ११ असार। गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले पोखरा १७ मा अवस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले स्थानीय समुदायसँग सहकार्य नगरी समस्या र द्वन्द्ध सिर्जना गरिरहेको बताएका छन्। प्रदेशसभाको शुन्य समयमा बोल्दै नेकपा एमालेका सांसद कार्कीले उक्त संग्रहालयले १६ वटा हिमालको रोयल्टी र टिकटबाट आएको आम्दानीको भूमिकर नतिरेको, नक्सापास नभएको र अख्तियारमा समेत मुद्दा दायर भएको बताउँदै यसको अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराए।
उनले सरकारको तर्फबाट अघिल्लो वर्ष विनियोजित रकम फ्रिज हुँदा पनि त्यसले कुनै प्रभाव नपारेको उल्लेख गर्दै वन मन्त्रालयले यस पटक दुई करोड रुपैयाँ विनियोजन गरी बोटानिकल गार्डेन निर्माणको जिम्मेवारी दिएको बताए। सांसद कार्कीले स्थानीय टोलविकास संस्था, विद्यालय, आमा समूह र जनप्रतिनिधिसँग सहकार्य नगर्ने, द्वन्द्ध बढाउने र दुःख दिने काम भइरहेको गुनासो रहेको बताए।
उनले बजेटको सफल कार्यान्वयन र स्थानीयसँग मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रदेश सरकार र संग्रहालय व्यवस्थापनलाई यस विषयमा संवेदनशील बन्न आग्रह गरे।































