पोखरा, ९ असार। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी सेनाले इरानका मुख्य आणविक स्थलहरूमा लक्षित आक्रमण गरी ती स्थानहरूलाई “पूर्ण रूपमा नष्ट” गरेको घोषणा गरेका छन्। वाशिङ्टनबाट गरिएको यो सैन्य आक्रमणले अमेरिकालाई इजरायल–इरान द्वन्द्वमा प्रत्यक्षरूपमा संलग्न गराउँदै मध्यपूर्वमा तनावको नयाँ चरणको संकेत दिएको छ।
ह्वाइट हाउसबाट टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले इरानले चाँडै शान्तिको बाटो नअँगाले थप आक्रमणहरूको चेतावनी दिएका छन्। उनले फोर्डो, नातान्ज र इस्फाहानका भूमिगत तथा संवेदनशील आणविक सुविधा केन्द्रहरू अमेरिकी मिसाइल आक्रमणको प्रमुख निशाना बनेको उल्लेख गरेका छन्। “यी सुविधा पूर्णरूपमा ध्वस्त पारिएका छन्,” ट्रम्पले भने।
आक्रमणको तुरुन्तपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ट्रम्पको नेतृत्वको प्रशंसा गर्दै अमेरिकी कार्यवाहीले “इतिहास परिवर्तन गर्ने” दाबी गरे। अर्कोतर्फ इरानी विदेशमन्त्री अब्बास अराघचीले यस आक्रमणलाई ‘गैरकानूनी र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्। उनले इरानको सार्वभौमसत्ता र जनताको सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाउने चेतावनी दिएका छन्।
इरानी सरकारी मिडियाले पनि फोर्डो, नातान्ज र इस्फाहानका आणविक स्थलहरू आक्रमणमा परेको पुष्टि गरेको छ। यद्यपि तेहरानले प्रारम्भिक अनुसन्धानमा “प्रदूषणको कुनै सङ्केत नभएको” उल्लेख गर्दै रेडियोधर्मी प्रभाव नदेखिएको जनाएको छ। अर्कोतर्फ, अमेरिकी आक्रमणपछिको प्रतिक्रियास्वरूप तेहरानले नयाँ मिसाइल आक्रमण सुरु गरेको इरानी टेलिभिजनले सार्वजनिक गरेको छ।
यसैबीच, तेल अभिवमा साइरन बजिएको र जेरुसेलममा विस्फोटको आवाज सुनिएको पुष्टि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन्। यसले इरान र इजरायलबीचको तनावलाई अझ गम्भीर रूप दिन सक्ने देखिएको छ, जहाँ अमेरिकी सहभागिताले युद्धको परिधिलाई खतरनाक स्तरमा पुर्याएको विश्लेषकहरूको आँकलन छ।































