पोखरा, २४ जेठ। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको छ। महायज्ञकी प्रमुख कथा वाचिका भागवत मञ्जरी राधिका दासीले दुई लाख ५१ हजार एक सय ५१ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी छन्। उक्त रकम शनिबार महायज्ञ आयोजक समितिलाई हस्तान्तरण गरिने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन्।
राधिका दासी जेठ १७ गतेदेखि श्रीमद्भागवत कथा वाचन गर्दै आएकी छन् भने जेठ ३१ सम्म कथा वाचन कार्य निरन्तर सञ्चालन हुने बताइएको छ। यसअघि जेठ २६ गतेसम्म तय गरिएको कार्यक्रम भक्तजनको चाप र आस्था बढ्दै गएकाले पाँच दिन थप गरिएको हो। हालसम्म २३ लाख ५० हजारभन्दा बढी भक्तजन सहभागी भइसकेको आयोजकको भनाइ छ।
शनिबार विशेष दिनका रूपमा मनाउने तयारी गरिएको छ। निर्जला एकादशीको अवसर पारेर ऐतिहासिक २१ करोड दीप प्रज्ज्वलन कार्यक्रम तय गरिएको छ। बिहान १० बजे भक्तजनले आआफ्नो घरबाट ल्याएको ज्योती कोटीहोममा भिजाउने र साँझ ६ बजे दीप प्रज्ज्वलन गरिनेछ। मानव सेवा फाउण्डेशनका व्यवस्थापक विष्णु थापाले यो दीप प्रज्ज्वलन नेपालमै नभएर विश्वमै सम्भवतः पहिलो हुने दाबी गरेका छन्।
त्यस अवसरमा फूलको होलीसमेत खेलिने कार्यक्रम रहेको प्रचार संयोजक ढकालले बताए। शनिबारको कार्यक्रममा सहभागी गराउन देशभरबाट तीन सय पाँच वटा गाडी पोखरा भित्रिइसकेको र तीन लाख ५० हजारभन्दा बढी भक्तजन सहभागिता हुने अपेक्षा गरिएको छ। भक्तजनको बढ्दो आकर्षणसँगै हालसम्म करिब सात करोड रुपैयाँ आर्थिक संकलन भइसकेको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले जानकारी दिएका छन्।
शान्ति, धर्म र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा रहेको कोटीहोम कार्यक्रमले पोखरा र आसपासका क्षेत्रलाई आध्यात्मिक ऊर्जा र पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित गराएको छ। महायज्ञ जेठ ३१ गतेसम्म जारी रहनेछ।































