पोखरा २४, भदौ। नेकपा एमालेले गत भदौ २३ र २४ गते भएका घटनालाई नेपालको लोकतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा राज्यका आधारस्तम्भमाथि भएको गम्भीर आक्रमणका रूपमा व्याख्या गरेको छ। भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै एमालेले घटनामा ज्यान गुमाएका युवाहरू र कर्तव्य पालनाका क्रममा मारिएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विध्वंसपछि पुनर्निर्माणमा जुटेका राजनीतिक–सामाजिक व्यक्तित्व तथा व्यवसायीलाई पुनरुत्थानको शुभकामना पनि दिएको छ।

एमालेले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला र विरोध प्रदर्शनको अधिकार सुनिश्चित गरेको जनाएको छ। तर गत वर्ष सामाजिक सञ्जालको निर्वाध सञ्चालन, सुशासनलगायत विषयमा माग राख्दै भएको प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरेर त्यसलाई अराजक र हिंसात्मक बनाएको एमालेको दाबी छ। पार्टीका अनुसार आयोजकले कार्यक्रम स्थगित गरेको घोषणा गरेपछि पनि घुसपैठकारी समूहले युवाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै संसद् भवनतर्फ आक्रमण गर्न उक्साएको थियो।

एमालेले भदौ २३ गते भिड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ जना युवाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ। त्यसपछि सरकारले न्यायिक छानबिन आयोग गठन, सामाजिक सञ्जालमाथिको अस्थायी बन्देज हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको र तत्कालीन गृहमन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको पनि एमालेले स्मरण गराएको छ।

भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई एमालेले योजनाबद्ध रूपमा लोकतन्त्रमाथि गरिएको आक्रमण भनेको छ। पार्टीले उक्त घटना अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न तत्कालीन आवेग मात्र नभई राष्ट्रियता, लोकतन्त्र र संविधानको प्रगतिशील दिशालाई उल्ट्याउने तथा मुलुकलाई अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको परिणाम भएको आरोप लगाएको छ।

एमालेले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा गहिरो अनुसन्धान हुनुपर्ने माग गरेको छ। साथै, घटनासम्बन्धी सुरक्षा निकायको भूमिका र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताउँदै अनुसन्धान तथा अभियोजन प्रक्रिया रोकिएकोप्रति प्रश्न उठाएको छ। राज्यका प्रमुख संरचना र लोकतान्त्रिक संस्थामाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने एमालेको भनाइ छ।

पार्टीले हिंसा र अराजकतालाई लोकतान्त्रिक परिवर्तनको माध्यमका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट गर्दै दण्डहीनताको अन्त्य र दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ। सरकार परिवर्तनका लागि संविधानले निर्धारण गरेको बाटोबाहेक अन्य विकल्प स्वीकार्य नहुने भन्दै एमालेले राजनीतिक समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट खोजिनुपर्ने जनाएको छ।

विज्ञप्तिमा एमालेले जेनजी युवाहरूका सरोकार र अपेक्षा स्वाभाविक तथा सकारात्मक रहेको दाबी गर्दै उनीहरूको नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको प्रत्यक्ष संलग्नता नरहेको जिकिर गरेको छ। घटनाबाट अन्य तत्वले लाभ लिएको र तिनै लाभग्राहीको भूमिकाका कारण युवाहरूमा निराशा बढेको एमालेको निष्कर्ष छ। लोकतन्त्र, संविधान, राष्ट्रिय हित, स्वाभिमान र शान्तिको रक्षाका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा वामपन्थी शक्ति र व्यक्तिहरूलाई सक्रिय हुन आह्वान गर्दै एमालेले सम्बन्धित सबै शक्तिसँग सहकार्य गरेर अघि बढ्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0