पोखरा २४, भदौ। सिरहामा सशस्त्र प्रहरीले १५७ किलो २०७ ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमा क्षेत्रबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १ः३५ बजे नेपालबाट अवैध रूपमा गाँजा भारततर्फ लैजाँदै गरिएको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरूले गाँजा त्यहीँ छाडेर फरार भएका थिए। घटनापछि गस्ती टोलीले छाडिएको गाँजा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको छ। सीमा क्षेत्रमा लागुऔषध ओसारपसार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नियमित निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको ठूलो परिमाणको गाँजासँग सम्बन्धित व्यक्तिहरूको पहिचान तथा घटनाको थप विवरणबारे अनुसन्धान अघि बढाइने बताइएको छ।
































