पोखरा २३, भदौ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा गएको पहिरोका कारण ढुवानी प्रभावित भएपछि संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ। मुख्य राजमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गरेर ग्यास ढुवानी गर्नुपरेको छ, जसका कारण बजारको बढ्दो मागअनुसार पर्याप्त मात्रामा ग्यास पुर्याउन कठिन भएको व्यवसायीहरूले बताएका छन्।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उद्योगीहरूले त्रिभुवन राजपथ हुँदै ट्रकमार्फत ग्यास काठमाडौं भित्र्याइरहेका छन्। घुमाउरो तथा असहज सडकमार्ग प्रयोग गर्नुपर्दा ढुवानीमा ढिलाइ हुनुका साथै दैनिक आवश्यकताअनुसार ग्यास आपूर्ति गर्न नसकिएको जनाइएको छ। यही समस्याका कारण मंगलबार काठमाडौं उपत्यकामा नौ वटा ग्यास कम्पनीबाट जम्मा १८ हजार २ सय ५९ वटा सिलिन्डर मात्र डिलरहरूसम्म पुगेका छन्।
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार पछिल्ला दिन काठमाडौं उपत्यकामा दैनिक करिब एक लाख सिलिन्डर ग्यासको माग रहेको छ। सामान्य अवस्थामा भने उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिन्डर ग्यासको आवश्यकता पर्ने गरेको छ। हाल आपूर्ति प्रणाली प्रभावित हुँदा माग र उपलब्ध ग्यासको मात्राबीच ठूलो अन्तर देखिएको छ।
नेपाल आयल निगमको एलपीजी विभागका अनुसार मंगलबार सबैभन्दा बढी सगरमाथा ग्यासले ६० वटा डिलरमार्फत ४ हजार ६ सय ९९ सिलिन्डर बजारमा पठाएको छ। एभरेस्ट ग्यासले २८ डिलरमार्फत ३ हजार ४ सय ७५ सिलिन्डर वितरण गरेको छ भने सुगम ग्यासले १५ डिलरमार्फत २ हजार ४ सय २३ सिलिन्डर उपलब्ध गराएको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनको स्वामित्वमा रहेको एसटीसी ग्यासले ४४ डिलरमार्फत २ हजार १ सय ४६ सिलिन्डर बजारमा पठाएको छ। अन्य कम्पनीमध्ये सीताश्री ग्यासले १ हजार ६ सय, श्री ग्यासले १ हजार ९ सय ६०, श्रीमाया ग्यासले १ हजार २ सय ९१, श्रीराम ग्यासले ३ सय ६० र मनोज ग्यासले ३ सय ५ सिलिन्डर वितरण गरेका छन्।
ढुवानीमा भएको अवरोध र बजारको उच्च मागका कारण ग्यास वितरण प्रणाली तत्कालका लागि गम्भीर रूपमा प्रभावित भएको छ। ग्यास पाउने आशामा उपभोक्ताहरू डिलर तथा उद्योग परिसरमा लामो समयदेखि लाइनमा बसिरहेका छन्। राजमार्ग सञ्चालन सामान्य नहुँदासम्म काठमाडौं उपत्यकाको ग्यास आपूर्तिमा थप चुनौती देखिन सक्ने व्यवसायीहरूको भनाइ छ।
































