पोखरा २३, भदौ। नेसनल प्याब्सन, कास्कीको आइतबार सम्पन्न नवौं जिल्ला अधिवेशन तथा १८ औं वार्षिक साधारण सभाले मनकाजी गुरुङको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै संस्थागत विद्यालयको शिक्षा, गुणस्तर सुधार तथा समसामयिक शैक्षिक चुनौतीका विषयमा समेत व्यापक छलफल गरेको थियो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेमराज अधिकारी, उपाध्यक्षमा राजु केसी, सचिवमा शिवराज पौडेल, कोषाध्यक्षमा राजु कायस्थ, सहसचिवमा रमेशराज पौडेल तथा सहकोषाध्यक्षमा अर्जुनप्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा अर्जुनप्रसाद पाण्डे, ज्ञानेन्द्रबहादुर थापा, तोलाकान्त न्यौपाने, दिपु भारी, रुद्रप्रसाद अधिकारी, देव क्षेत्री र माधवशरण पौडेल निर्विरोध चयन भएका छन्। सोमनाथ पौडेल माछापुच्छ्रे गाउँपालिकाबाट पदेन सदस्य रहेका छन् भने हेम रानाभाटलाई सदस्यमा मनोनित गरिएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले प्रदेश सरकारले प्रविधिमैत्री, सीपमूलक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताइन्। समयअनुकूल शिक्षामा अगाडि बढ्न नसके अपेक्षित शैक्षिक प्रगति हासिल गर्न नसकिने उल्लेख गर्दै उनले शिक्षा क्षेत्रमा सक्रिय सबै पक्षबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको धारणा राखिन्। संस्थागत विद्यालयले शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनले विद्यालयका समस्या समाधान र सहजीकरणका लागि प्रदेश सरकारको ढोका सधैं खुला रहने बताइन्।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले संस्थागत विद्यालयको सहभागिताविना नेपालको शिक्षा प्रणालीको पूर्ण परिकल्पना गर्न नसकिने बताए। पछिल्लो तथ्यांकअनुसार शिक्षा क्षेत्रमा संस्थागत विद्यालयको ३८ प्रतिशत योगदान रहेको उल्लेख गर्दै उनले यस्तो महत्वपूर्ण क्षेत्रलाई बेवास्ता गरेर ऐन तथा नियम निर्माण गर्न खोजिए संस्थागत विद्यालयलाई स्वीकार्य नहुने स्पष्ट पारे।

कार्यक्रममा गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिइन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको शिक्षा विकास महाशाखाका निर्देशक घनश्याम पौडेलले संस्थागत र सामुदायिक विद्यालयका असल अभ्यास आदानप्रदान गर्न सके शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार सम्भव हुने बताए। राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख सुवास पन्तले सरकारले निर्धारण गरेको पाठ्यक्रमअनुसार प्रभावकारी कक्षा सिकाइ सञ्चालन गर्न सके विद्यार्थीलाई परीक्षामा समस्या नआउने धारणा राखे।

कार्यक्रममा विभिन्न शैक्षिक, सामाजिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। निवर्तमान अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मनकाजी गुरुङले स्वागत मन्तव्य राखेका थिए भने तत्कालीन सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा प्रस्तुत प्रतिवेदनहरू तथा सहभागी वक्ताहरूको धारणा संस्थागत शिक्षाको गुणस्तर, सहकार्य र प्रविधिमैत्री शिक्षाको विस्तारमा केन्द्रित रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0