पोखरा २३, भदौ। पोखरा उद्योग वाणिज्य संघको ७० वर्ष लामो इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हाल्ने भएकी छन्। संघको ३६ औं अधिवेशनबाट शोभा गौतम अध्यक्षमा निर्वाचित हुँदै संस्थाको इतिहासमा नयाँ अध्याय सुरु गरेकी छन्। गौतमले आफ्ना तीन पुरुष प्रतिस्पर्धी अर्जुन पोखरेल, उत्तममान बुद्धाचार्य र बलराम आचार्यलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेकी हुन्।

यसअघि विन्दु कोइराला र हीरा भट्टराईले संघको अध्यक्ष पदमा पुग्ने प्रयास गरे पनि सफलता प्राप्त गर्न सकेका थिएनन्। यस्तो अवस्थामा वर्तमान महासचिवको जिम्मेवारी सम्हालिरहेकी गौतम अध्यक्षमा निर्वाचित हुनु पोखराको उद्योग तथा वाणिज्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। आफ्नो विजयलाई उनले व्यक्तिगत सफलताभन्दा पनि हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधित्वको रूपमा लिएकी छन्। उनले आफू केवल उम्मेदवारको परिचयमा सीमित नभई संघर्षरत महिला उद्यमीहरूको आवाजको प्रतिनिधि भएको बताएकी छन्।

गौतमको व्यावसायिक यात्रा २६ वर्षअघि एउटा सानो चिया पसलबाट सुरु भएको थियो। उनले पोखरा उद्योग वाणिज्य संघको कार्यालय अगाडि चिया पसल सञ्चालन गर्दै आफ्नो व्यावसायिक यात्रा प्रारम्भ गरेकी थिइन्। यही अनुभवले उनलाई व्यवसायीका समस्या, बजारको अवस्था र ग्राहकको मनोविज्ञानलाई नजिकबाट बुझ्ने अवसर दिएको थियो। पछि उनले महेन्द्रपुलमा ‘पुष्पाञ्जली ब्युटी पार्लर’ स्थापना गर्दै आफ्नो व्यवसायलाई विस्तार गरिन्। त्यतिबेला पार्लर व्यवसायप्रति समाजको दृष्टिकोण सहज नभए पनि उनले चुनौतीलाई अवसरमा बदल्दै आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरिन्।

हाल गौतम सुप्रिम सप्लायर्समार्फत लुब्रिकेन्ट, फेसन, इभेन्ट, रेस्टुरेन्ट, कृषि तथा ग्रोसरीसहित विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छिन्। उनी विसं २०७३ मा साधारण सदस्यका रूपमा पोखरा उद्योग वाणिज्य संघमा प्रवेश गरेकी थिइन्। तत्कालीन अध्यक्ष पवनकुमार प्रजापतिको प्रेरणाबाट संघमा जोडिएकी गौतम कार्यसमिति सदस्य, उपमहासचिव हुँदै महासचिवसम्मको जिम्मेवारी सफलतापूर्वक सम्हाल्दै अध्यक्ष पदमा पुगेकी हुन्।

यसपटक उनले ‘सुदृढ संघ, सक्षम नेतृत्व’ नारासहित १४ बुँदे प्रतिबद्धता सार्वजनिक गरेकी छन्। कृषि र पर्यटन प्रवर्द्धन, युवा उद्यमशीलता, महिला उद्यमीको सशक्तीकरण, वित्तीय साक्षरता र सीप विकास उनका प्रमुख प्राथमिकतामा रहेका छन्। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, न्यु रोडको पार्किङ समस्या समाधान, ‘मेड इन पोखरा’ अभियानको विस्तार तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने योजनालाई पनि प्राथमिकतामा राखेकी छन्। गौतमको नेतृत्वबाट पोखराको उद्योग तथा वाणिज्य क्षेत्रमा नयाँ ऊर्जा र सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0