पोखरा १, फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार पोखरा महानगरपालिका देशका ६ महानगरपालिकाहरूमध्ये चौथो स्थानमा परेको छ । आयोगले विभिन्न १७ वटा सूचकलाई आधार मानेर गरेको मूल्याङ्कनमा पोखराले ५८.७६ अङ्क प्राप्त गरेको हो । यस वर्ष मोरङको विराटनगर महानगरपालिका ७८.११ अङ्कका साथ देशकै सर्वोत्कृष्ट महानगर बन्न सफल भएको छ भने ७६.३३ अङ्क प्राप्त गरेको ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ ।

आयोगको प्रतिवेदनअनुसार चितवनको भरतपुर महानगरपालिका ६८.०४ अङ्कका साथ तेस्रो स्थानमा रहँदा पोखराले औसत प्रदर्शन गर्दै चौथो स्थानमा चित्त बुझाउनुपरेको हो । पोखराभन्दा पछाडि ५४ अङ्कका साथ वीरगञ्ज महानगरपालिका पाँचौँ स्थानमा छ भने देशको संघीय राजधानी काठमाडौं महानगरपालिका ४४.९७ अङ्कका साथ सबैभन्दा कमजोर देखिएको छ । आयोगले मुख्यतया साउन १० गतेभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, राजस्व परिचालनको अवस्था, बेरुजुको स्थिति र बजेट समीक्षा जस्ता वित्तीय एवं प्रशासनिक पक्षलाई मूल्याङ्कनको मुख्य आधार बनाएको थियो ।

यसका साथै, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका प्रगतिहरूलाई पनि अङ्क निर्धारणको आधार बनाइएको छ । कक्षा ९ मा विद्यार्थी टिकाउ दर, विद्यार्थी भर्ना दर, एसईईको नतिजा, खोपको पहुँच र मातृ स्वास्थ्य जस्ता सामाजिक सूचकहरूमा पोखराको स्थिति अन्य उत्कृष्ट महानगरको तुलनामा सुधार गर्नुपर्ने देखिएको छ । आयोगले वार्षिक रूपमा गर्ने यो मूल्याङ्कन स्थानीय तहका लागि निकै महत्वपूर्ण मानिन्छ, किनभने यसै नतिजाका आधारमा संघीय सरकारले स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको परिमाण तय गर्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0