पोखरा १४, माघ। पश्चिम नेपालका दाङ, दैलेख र सुर्खेत लगायतका जिल्लाहरूमा सालका वन डढेलो लागे झैं नाङ्गिएपछि गरिएको वैज्ञानिक अनुसन्धानले यसको मुख्य कारण ‘डिफोलिएटर’ किराको प्रकोप भएको पुष्टि गरेको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले गठन गरेको तीन सदस्यीय विज्ञ टोलीले स्थलगत अध्ययन गरी यो समस्या प्राकृतिक डढेलो नभएर पात खाने किराको महामारी भएको निष्कर्ष निकालेको हो। उपसचिव सुनिता उलकको संयोजकत्वमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. प्रेम बुढा र अनुसन्धान अधिकृत प्रतीक पाण्डेय सम्मिलित टोलीले कर्णाली प्रदेशका विभिन्न सामुदायिक वनहरूको निरीक्षण गरेको थियो। अध्ययनका क्रममा ‘इरेबिडेई’ र ‘लासियोक्याम्पिडेई’ परिवारका झुसिलकिराहरूले सालका पातहरू तीव्र रूपमा खाएर वनलाई पूर्णतः नाङ्गो र कुरूप बनाएको पाइएको छ।
विशेषगरी दैलेखका किमुगाउँ, चुप्रा र श्रीस्थान लगायतका क्षेत्रमा किराको प्रभाव भयावह देखिएको छ भने दाङका तुलसीपुर र बबई क्षेत्रका करिब १० प्रतिशत सालका रुखहरूमा संक्रमण फैलिएको छ। विज्ञहरूका अनुसार यो प्रकोप फैलिनुमा यस वर्षको लामो खडेरी र हिउँदे वर्षाको अभाव प्रमुख कारण रहेको छ। बढ्दो तापक्रम र सुख्खा मौसमले किराको प्रजननका लागि अनुकूल वातावरण सिर्जना गरिदिएको अनुसन्धानले देखाएको छ। अचम्मको कुरा के छ भने यी किराहरूले सालका रुखहरूलाई मात्र लक्षित गरेका छन् र सँगै रहेका सल्लाका रुखहरूलाई कुनै क्षति पुर्याएका छैनन्। यो प्रकोप असोज महिनादेखि नै सुरु भए पनि स्थानीय समुदायबाट समयमै सूचना प्राप्त नहुँदा यसको पहिचानमा केही ढिलाइ भएको थियो। पात नहुँदा स्थानीयले दशैं, तिहार र विवाह जस्ता सांस्कृतिक कार्यका लागि दुनाटपरी बनाउन एउटा पनि सालको पात पाउन नसकेको गुनासो गरेका छन्।
प्रकोप नियन्त्रणका लागि विज्ञ टोलीले केही महत्त्वपूर्ण प्राविधिक सिफारिसहरू गरेको छ। आगामी फागुन र चैत महिनामा तापक्रम बढेसँगै यी किराहरू पुनः सक्रिय हुन सक्ने भएकाले ‘लाइट ट्र्याप’ विधि प्रयोग गरेर वयस्क पुतलीहरूलाई नियन्त्रण गर्ने योजना बनाइएको छ। साथै, भदौ-असोजतिर रुखका हाँगाबिँगा काँटछाँट गर्ने र वन क्षेत्र सफा राख्ने हो भने किराको संख्या उल्लेख्य रूपमा घटाउन सकिने विज्ञहरूको सुझाव छ। माटोमा लुकेर बसेका किराका अवशेष नष्ट गर्न नियन्त्रित डढेलोको विकल्पमा समेत अनुसन्धान भइरहेको छ। आगामी दिनमा वन क्षेत्रमा यस्तो समस्या देखिने बित्तिकै उपभोक्ता समूहले वन कार्यालयमा जानकारी गराउनु पर्ने र वैज्ञानिकहरूले फागुनमा पुनः स्थलगत भ्रमण गरी किराको प्रजाति यकिन गरेर दीर्घकालीन समाधान खोज्ने तयारी गरेका छन्।






























