पोखरा, ३ साउन। पूर्णिमा राई र मीना देउवाको ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पाँचौं खेलमा भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ। डबल राउन्ड रोबिन फर्म्याटमा जारी प्रतियोगितामा नेपालले लगातार प्रभावशाली प्रदर्शन गर्दै च्याम्पियनसिपतर्फको यात्रा थप सशक्त बनाएको छ।

खेलको सुरुवातमै नेपालले आक्रामक प्रदर्शन गरेको थियो। पहिलो मिनेटमै मीना देउवाले गोल गर्दै नेपाललाई अग्रता दिलाइन्। नवौं मिनेटमा समिक्षा बस्नेतको प्रहार गोलकिपरमार्फत पोस्टभित्र प्रवेश गरेपछि अग्रता दोब्बर बन्यो। त्यसपछि लगातार आक्रमण गर्दै नेपालले १२औं मिनेटमा मीनाको दोस्रो, २३औं मिनेटमा पूर्णिमाको पहिलो गोल गर्दै स्कोरलाई ४-० मा पुर्‍यायो।

इन्जुरी समयको पहिलो मिनेटमा पूर्णिमाले हेडमार्फत गोल गर्दै पाँचौं गोल गरिन् भने इन्जुरीको अन्तिम समयमा ह्याट्रिक पूरा गर्दै नेपाललाई पहिलो हाफमै ६-० को मजबुत अग्रता दिलाइन्। दोस्रो हाफमा ६३औं मिनेटमा कुसुम खतिवाडाले गोल गरिन् भने लगत्तै ६४औं मिनेटमा मीनाले ह्याट्रिक पूरा गर्दा नेपालले ८-० को स्पष्ट जित हासिल गर्‍यो।

नेपालको भुटानविरुद्ध यो दोस्रो खेल थियो। पहिलो भेटमा नेपालले ६-१ को जित दर्ता गरेको थियो। प्रतियोगितामा नेपालले हालसम्म ५ खेलमा १२ अंक जोडेको छ। बंगलादेशले पनि ४ खेलमा १२ अंक बनाएको छ र आजै बेलुका श्रीलंकासँग खेल्दैछ।

सोमबार हुने नेपाल र बंगलादेशबीचको अन्तिम खेल प्रतियोगिताको निर्णायक बन्नेछ, जहाँ विजेता टोली च्याम्पियन बन्नेछ। नेपालले यसअघि श्रीलंकासँग लगातार दुई खेलमा ७-० को जित दर्ता गर्दै उत्कृष्ट लय कायम राखेको छ भने बंगलादेशसँगको पहिलो भेटमा ३-२ ले पराजित भएको थियो।

नेपालको बलियो फर्म र खेलाडीहरूको प्रदर्शनले उपाधि जित्ने आशालाई अझ सशक्त बनाएको छ। अबको ध्यान सोमबारको निर्णायक खेलमा केन्द्रित हुने निश्चित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0