पोखरा, ११ असार। गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले फेवाताल क्षेत्रमा निरन्तर बढिरहेको अवैध संरचना निर्माणप्रति गम्भीर आपत्ति जनाएका छन्। मंगलबारको प्रदेशसभा बैठकमा उनले पोखरा महानगरपालिका र प्रदेश सरकार दुवैले फेवाताल संरक्षणमा लापरबाही गरेको आरोप लगाउँदै फेवाताल मासिने खतरा देखिएको बताए।

सांसद बरालले पोखरा महानगरपालिकाले ताल किनारमा भएका चार–पाँच तले भवनहरूलाई मौन समर्थन गरेको आरोप लगाए। ‘राजपत्रमा स्पष्ट रूपमा एक तलेभन्दा माथि संरचना बनाउन नपाइने उल्लेख छ तर यथार्थमा त्यसको खुलेआम उल्लंघन भइरहेको छ,’ उनले भने। उनले फेवातालको अस्तित्व मास्ने गरी संरचना निर्माण भइरहेको दाबी गर्दै ती संरचनाको तत्काल अनुगमन र समीक्षा गर्न विशेष समिति गठन गर्न सरकारसँग माग गरे।

उनले हाल भइरहेको सिमांकन प्रक्रिया वैज्ञानिक र पारदर्शी नभएको भन्दै तत्काल स्थगित गर्नुपर्ने आवश्यकता औंल्याए। फेवातालको ६५ मिटर मापदण्डबारे सर्वोच्च अदालतको आदेशपछि प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा सिमांकन सुरु गरे पनि स्थानीय बासिन्दा र सरोकारवालासँग पर्याप्त परामर्शबिना प्रक्रिया अघि बढाइएको सांसद बरालको आरोप छ।

सांसद बरालले ताल क्षेत्रको अवलोकन गर्दै राज्यसंयन्त्रको लापरबाहीको प्रमाण आफैँले प्रत्यक्ष देखेको बताए। ‘झुपडीभित्र गएर हेर्दा चार–पाँच तले घरहरू तालतिरै ढल्किएका छन्,’ उनले भने, ‘महानगरपालिकाको आँखाअगाडि संरचना बन्नु र उनीहरू टुलुटुलु हेरेर बस्नु गम्भीर लापरबाही हो।’

फेवातालको संरक्षण र सदुपयोगका लागि उच्च प्राथमिकता दिइनुपर्नेमा उनले जोड दिँदै यस्तो संवेदनशील क्षेत्रमा लापरबाही सह्य नहुने चेतावनीसमेत दिए। ‘सरकार आफैँ अदालतको आदेश कार्यान्वयन गर्न उदासिन छ भने नागरिक अधिकार कसरी सुरक्षित हुन्छ?’ भन्ने प्रश्न उनले उठाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0