पोखरा, ११ असार। गण्डकी प्रदेशसभामा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले मन्दिर निर्माणका लागि अत्यधिक बजेट छुट्याएको भन्दै तीव्र आलोचना भएको छ। आइतबार प्रदेशसभामा मन्त्रालयगत विनियोजन विधेयकमाथि छलफल गर्ने क्रममा सांसदहरूले उद्योगमन्त्री मित्रलाल बस्यालको निर्वाचन क्षेत्रमै ६० वटा मन्दिरका लागि बजेट विनियोजन गरिएकोप्रति आक्रोश व्यक्त गरेका हुन्।
छलफलमा भाग लिँदै सांसद विकल शेरचनले मन्त्रालयको कुल बजेटको ३६ प्रतिशत अर्थात् २१ करोड १५ लाख रुपैयाँ मन्दिर निर्माणमा छुट्याइएको भन्दै आपत्ति जनाए। उनले मुक्तिनाथ–दामोदर कुण्ड जस्ता धार्मिक एवं पर्यटकीय महत्वका स्थानमा बजेट नपरेको उल्लेख गर्दै कटाक्ष गरे, “३२१ मन्दिर बनाउने भनिएको छ, तीमध्ये ६० वटा मन्त्रीज्यूकै निर्वाचन क्षेत्रमा छन्। तपाईं उद्योग मन्त्री हो कि मन्दिर मन्त्री ?”
सांसद भक्तबहादुर कुँवरले समेत मन्दिर निर्माणमा अत्यधिक बजेट विनियोजन गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै अन्य आवश्यक पूर्वाधार र सेवामा बजेट खर्च गर्नुपर्ने बताए। त्यस्तै सांसद पार्वती तामाङले बौद्ध धर्मतर्फ बजेट नछुट्याइएकोमा असन्तुष्टि जनाउँदै सरकारको धार्मिक दृष्टिकोणमा असमानता रहेको आरोप लगाइन्।
यसैबीच, छलफलको प्रक्रियामा बजेट पुस्तिका उपलब्ध नगराइएको भन्दै सांसदहरू आक्रोशित बनेका छन्। बजेट विवरण समयमै नपुगेको भन्दै सांसदहरूले छलफल प्रभावकारी हुन नसकेको जनाए। सांसद भीमबहादुर कार्कीले बजेट विवरण ढिला आउँदा सार्थक बहस गर्न नसकिएको बताए भने सांसद विन्दु पौडेलले मन्त्रालयहरूलाई व्यंग्य गर्दै ‘किताब त तपाईंहरूसँग होला, तपाईंहरूले नै हेर्नुहोला’ भनी टिप्पणी गरिन्।
छलफलका क्रममा सांसदहरूले बजेट विनियोजनमा असमानता, योजनाको कार्यान्वयनमा कमजोरी र कर्मचारीतन्त्रप्रति असन्तोषसमेत पोखे। शेरचनले मुस्ताङका वन क्षेत्रहरू अन्नपूर्ण संरक्षण क्षेत्रमा गाभिएपछि वन कार्यालयको औचित्य छैन भन्दै खारेज गर्न माग गरे। अर्कातर्फ, उनले लुलु गाई संरक्षण कार्यक्रम र पस्मिना प्रोत्साहन योजनालाई भने सकारात्मक माने।
प्रदेशका सांसदहरूले समग्र विकासका दृष्टिकोणबाट बजेट सन्तुलनमा ल्याउनुपर्नेमा जोड दिएका छन्। केहीले औद्योगिक क्षेत्रको विकास, खेतीपाती प्रवर्द्धन, र आधुनिक पूर्वाधारमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्।































