पोखरा, १० असार। नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०८२ मा सहभागी रचनाहरूमध्येबाट उत्कृष्ट १० कवितालाई पुरस्कारका लागि सिफारिस गरेको छ। प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष समारोहमा देशका विभिन्न भागबाट आएका कविहरूको सहभागितामार्फत कविता महोत्सव सम्पन्न भएको हो।

प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी सूचनाअनुसार मूल्याङ्कन समितिको सिफारिसमा सिराहाका अविनाश भट्टराईको ‘छुटिजानेहरुको नाममा’, मोरङका कर्ण सञ्जयको मैथिली कविता ‘पिताजी अहाँ के छलौ’, मकवानपुरका किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, लमजुङकी गोमा श्रेष्ठको ‘भालेको मौन बिद्रोह’ र नवलपरासीका चन्द्रमणि चापागाईंको ‘औजार’ शीर्षकका कविता छनोटमा परेका छन्।

त्यसैगरी रुकुमपश्चिमका तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मकवानपुरकी मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, ललितपुरकी सन्ध्या महर्जनको नेपाल भाषामा लेखिएको ‘हिउँ सः ले तनाच्वंगु मौन म्हगस’ र चितवनका सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकका कविताले समेत पुरस्कार सिफारिसमा स्थान पाएका छन्।

नेपालभित्र विविध भौगोलिक क्षेत्र, भाषा र सांस्कृतिक पृष्ठभूमिका सिर्जनशील कविहरूको प्रतिनिधित्व रहने गरी चयन गरिएको उक्त सूचीले समावेशी दृष्टिकोणलाई पनि उजागर गरेको छ। साहित्यिक क्षेत्रमा नवप्रतिभाको पहिचान र सम्मानका माध्यमले सिर्जना र संवेदनालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतिष्ठानले यस्तो आयोजनाको निरन्तरता दिँदै आएको छ।

कविता महोत्सवमा प्रस्तुत सिर्जनाहरूको कलात्मकता, भाषिक क्षमता, सामाजिक चेतना र रचनात्मक मौलिकताका आधारमा मूल्याङ्कन गरिएको बताइएको छ। आगामी दिनमा सिफारिस भएका कविताहरूलाई औपचारिक समारोहमार्फत सम्मान गरिने कार्यक्रम रहेको प्रतिष्ठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0