पोखरा, १० असार। सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनमा प्रचलित कानुन, कार्ययोजना, माइलस्टोन र वित्तीय अनुशासनलाई पूर्णरूपमा अनुसरण गर्ने स्पष्ट पारेको छ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विनियोजन विधेयकअन्तर्गत सांसदहरूको प्रश्नको जवाफ दिँदै यस विषयमा जानकारी दिएका हुन्।

मन्त्री चौधरीका अनुसार बजेटको कार्यान्वयनमा पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्न स्रोत व्यवस्थापन, नियमित अनुगमन, मूल्याङ्कन तथा प्रगति प्रतिवेदन प्रणालीलाई मजबुत बनाइनेछ। उनले युवालाई आत्मनिर्भर बनाउँदै देशमै रोजगारीको वातावरण सिर्जना गर्न विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी गराए।

खेलकुद क्षेत्रलाई सबल बनाउँदै युवाको आत्मबल र संलग्नता बढाउने उद्देश्यले नगद प्रोत्साहन, खेल सामग्री, अनुभवी प्रशिक्षक र विज्ञानमा आधारित तालिमको व्यवस्था मिलाइएको मन्त्री चौधरीले बताए। खेलाडीको योगदानलाई सम्मान गर्नका लागि सम्मान समारोह, छात्रवृत्ति, सामाजिक सुरक्षा र नगद पुरस्कारको व्यवस्था गरिएको छ।

उनका अनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच तालमेल गरी प्राथमिकता निर्धारणका आधारमा खेल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिइनेछ। निर्माणाधीन रङ्गशालालाई सम्पन्न गर्ने योजना पनि यही बजेटभित्र समावेश गरिएको छ।

युवा पलायनलाई दीर्घकालीन सामाजिक–आर्थिक चुनौतीका रूपमा औंल्याउँदै मन्त्री चौधरीले मन्त्रालयले आत्मनिर्भरता र उद्यमशीलता प्रवर्द्धनमार्फत त्यसलाई न्यूनीकरण गर्ने रणनीति बनाएको उल्लेख गरे। उनले भने, “युवालाई देशमै अवसर सिर्जना गरेर राष्ट्र निर्माणमा योगदान गर्न सक्ने वातावरण तयार पार्नु सरकारको दायित्व हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0