पोखरा, १० असार। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आइतबार सम्पन्न १७ औं नगरसभामा महानगरकी उपप्रमुख मन्जुदेवी गुरुङले यो बजेट सार्वजनिक गरेकी हुन्। यसअघिको चालु आर्थिक वर्षको तुलनामा बजेटमा उल्लेखनीय वृद्धि भएको छ। चालु वर्षका लागि महानगरले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको थियो।

उपप्रमुख गुरुङका अनुसार आगामी बजेटमा नगर कार्यपालिकाको कार्यालयका लागि ५५ करोड, सामाजिक विकासका लागि ३८ करोड, आर्थिक विकासका लागि १८ करोड, वडा कार्यालयहरूका लागि १ अर्ब, पूर्वाधार विकासका लागि २ अर्ब ३३ करोड र शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगरले आगामी आर्थिक वर्षका लागि कुल बजेटको ३६.१३ प्रतिशत भाग संघीय सरकारबाट प्राप्त अनुदानमार्फत जुटाउने योजना बनाएको छ भने ६३.८७ प्रतिशत आन्तरिक आयबाट सङ्कलन गर्ने लक्ष्य छ। गत आर्थिक वर्षको बजेटको ५५.४३ प्रतिशत मात्र खर्च भएको उपप्रमुख गुरुङले जानकारी दिइन्।

बजेट प्रस्तुत गर्नुअघि महानगरपालिकाका मेयर धनराज आचार्यले वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। उक्त कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार निर्माण, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिइएको छ। गत वर्ष जस्तै यस वर्ष पनि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने प्रक्रिया दुई दिनमा सम्पन्न गरिएको छ।

यसले आगामी वर्ष पोखराको समग्र विकासलाई प्रभावकारी बनाउन र बजेटको प्रभावकारी उपयोगमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0