पोखरा, ९ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भेटिएको मिथेन ग्याँस एक वर्षभित्र उपयोगमा ल्याउन आवश्यक तयारी थाल्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्। चीनको सहयोगमा गरिएको अन्वेषणबाट प्राप्त प्रारम्भिक प्रतिवेदनमा दैलेखको भैरवी गाउँपालिकास्थित जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार पुष्टि भएको जनाइएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू र चिनियाँ अन्वेषण टोलीको प्रतिवेदनबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले छिटो परीक्षण उत्पादन सुरु गरी एक वर्षभित्र उपभोगयोग्य बनाउने लक्ष्यका साथ कार्य अघि बढाउन निर्देशन दिए। उनले सो कार्यका लागि आवश्यक बजेट, स्रोत, साधन र कानुनी सहजीकरणमा सरकारबाट कुनै कमी नहुने प्रतिबद्धता पनि व्यक्त गरे।

उद्योग मन्त्री दामोदर भण्डारीले चिनियाँ प्राविधिक टोलीले ड्रिल गरेको क्षेत्रबाट नेपाललाई करिब ५० वर्षसम्म पुग्ने ग्याँस भण्डारण पुष्टि भएको जानकारी दिएका छन्। अन्य सम्भावित क्षेत्रमा पनि प्राकृतिक ग्याँसको भण्डार हुनसक्ने भन्दै थप अध्ययनको आवश्यकता औँल्याइएको छ।

यसै अवसरमा प्रधानमन्त्री ओलीले पूर्वी नवलपरासीको धौबादी फलाम खानी उत्खननलाई पनि तीव्रता दिन निर्देशन दिएका छन्। धौबादी फलाम कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार सो क्षेत्रमा करिब ९९ मिलियन टन फलामको भण्डार रहेको र नियमित प्रक्रिया अनुसार २०८५ सालभित्र उत्पादन सम्भव हुने उल्लेख गरिएको छ। तर प्रधानमन्त्री ओलीले त्यस अवधिभन्दा अगावै उत्पादन प्रारम्भ गरी बजारमा उपलब्ध गराउने तयारी गर्न निर्देशन दिए।

छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु प्रसाद रिमाल, उद्योग मन्त्री भण्डारी, सम्बन्धित मन्त्रालयका उच्च अधिकारी र दैलेखका प्रतिनिधिहरू सहभागी थिए। प्रधानमन्त्री ओलीले मुलुकको ऊर्जा र खनिज स्रोतको दीर्घकालीन उपयोगमार्फत आत्मनिर्भरता हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0