पोखरा, ९ असार। रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र वडा नं. ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन पक्की पुल पुनः भाँचिएको छ। आइतबार बिहान भएको उक्त घटनामा पुलको बिचको स्पान पूर्णरूपमा भुइँमा खसेको हो। चार स्पान रहेको पुलको अन्तिम अर्थात् चौँथो स्पान भाँचिएको जनाइएको छ।

२२ करोड ५५ लाख लागतमा सडक विभागमार्फत निर्माण भइरहेको यो पुल रामेछापलाई काठमाण्डौं र तराई क्षेत्रसँग सिधा र छोटो दूरीमा जोड्ने महत्वपूर्ण पूर्वाधार मानिएको थियो। तर पुलको निर्माण गुणस्तरमाथि लगातार आशंका बढ्दै गएका छन्। यसअघि वैशाख महिनामा पनि पुलको एक भाग भाँचिएको थियो, जसको मर्मतकार्य चलिरहेका बेला यही भाग पुनः भाँचिएको हो।

२ सय ३० मिटर लम्बाइको यो पुल कालिका–कल्पवृक्ष जेभी निर्माण कम्पनीले निर्माण गरिरहेको हो। कम्पनीले २०७८ सालमा काम सुरु गरेको पुल यही असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको थियो। तर निर्माण अन्तिम चरणमा पुगेकै बेला पुल पुनः भाँचिनुले समग्र निर्माणको विश्वसनीयता र जिम्मेवारीप्रति गम्भीर प्रश्न उठाएको छ।

निर्माण कम्पनीले पुल भाँचिनुको कारण प्राविधिक परीक्षण पछि मात्र थाहा हुने प्रतिक्रिया दिएको छ। तर, दोहोरिएको घटनाले योजनाको गुणस्तर, सुरक्षामानक र निगरानी प्रक्रियामाथि समेत प्रश्न उठाएको छ। स्थानिय बासिन्दाहरू पुनः यस्तै दुर्घटना नदोहरियोस् भन्ने आशामा छन् भने सम्बन्धित निकायले तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग बढ्दो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0