पोखरा, १ असार। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चका लागि १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसबाहेक वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ छुट्याइएको छ।
चालु खर्च कुल बजेटको ५२ प्रतिशत, पुँजीगत ४७.७ प्रतिशत र वित्तीय व्यवस्थापन ०.३ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट १.७ प्रतिशतले र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले वृद्धि भएको हो।
बजेट स्रोततर्फ आन्तरिक आम्दानीबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड १० लाख, विशेष र समपूरक अनुदानसमेत गरी जम्मा ३२ अर्ब ७४ करोड ७९ लाख जुटाइनेछ। बाँकी ३ अर्ब १३ करोड नगद मौज्दातबाट व्यहोर्ने व्यवस्था गरिएको छ।
बजेटले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै १० अर्ब ५७ करोड छुट्याएको छ। खानेपानी, सिँचाइ र ऊर्जा क्षेत्रका लागि ४ अर्ब ७३ करोड ३० लाख, कृषि तथा उद्योगतर्फ २ अर्ब १८ करोड, पर्यटन, वन र वातावरणका लागि २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिक क्षेत्रमा २ अर्ब ५ करोड ५५ लाख र स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख विनियोजन गरिएको छ। साथै शान्ति सुरक्षा क्षेत्रमा ९६ करोड रुपैयाँ छुट्याइएको छ।
कोशी प्रदेश सरकारले प्रस्तुत गरेको बजेटले समावेशी र सन्तुलित विकासमा जोड दिइएको देखिन्छ। स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ पनि ४ अर्ब ७० करोड ७२ लाख विनियोजन गरिएको छ।




































