पोखरा, १ असार। पोखराको सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा वैशाख १७ गतेदेखि सुरु भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबार भव्यताका साथ सम्पन्न भएको छ। मानव सेवा फाउण्डेशनको आयोजनामा ६१ दिनसम्म सञ्चालन भएको कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएका थिए।
सङ्कल्पकर्ता बालयोगेश्वर श्रीविजय कृष्णमूर्तिजी महाराजले कोटीहोमबाट करिब नौ करोड रुपैयाँ संकलन भएको जानकारी गराउँदै असार महिनाभित्रै पत्रकार सम्मेलनमार्फत सम्पूर्ण आयव्यय सार्वजनिक गरिने बताए। उनले कोटीहोमको केही आम्दानी मानव सेवा, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण व्यक्त गरे।
समापन कार्यक्रममा सहसंयोजक युवक लामिछानेले हिन्दू राष्ट्रको घोषणाका पक्षमा आवाज उठाउँदै मामाघर अनाथ आश्रम निर्माणका लागि पाँच लाख र कोटीहोम सहयोगमा थप एक लाख २५ हजार दिने घोषणा गरे। यस अवसरमा रक्तदानमार्फत ९०६ युनिट रगत संकलन गरिएको थियो।
कोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला कार्यक्रमको पुरस्कार रकम यसअघि देखिएकोमध्ये सबैभन्दा ठूलो रहेको थियो। ४०० ब्राम्हणद्वारा सम्पन्न भएको हवनमा १ करोड ५० लाख आहुतिहरू समर्पण गरिएको थियो भने २१ करोड दीप प्रज्वलन गरिएको थियो।
धार्मिक गतिविधिको सिलसिलामा ५२५ जनाको ब्रतवन्ध, १२० तुलादान, १३५ चौरासी पूजा, १४६ नवग्रह शान्ति, १४ काल सर्प योग पूजा, ५ अर्क विवाह, ४ अष्ट महादान, ३३ पितृ अर्चना, ५ लघु रुद्री, १८ अति रुद्री, १ विवाह, ५ गुन्यूचोली, २२ लाखवत्ती सेवा र अन्य ४५ जना भक्तजनले विविध पूजाहरू गरेका थिए।
यज्ञको प्रारम्भ वैशाख १९ गते बिहान विधिवत् अग्निमन्थनबाट भएको थियो। हरेक दिन तीन, तीन ब्राम्हणद्वारा भगवती गायत्री मन्त्रद्वारा हवन सम्पन्न गरिएको थियो। साथसाथै वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्रजप लगायतका धार्मिक अनुष्ठान नियमित सञ्चालन भएका थिए।
प्रसिद्ध धर्मगुरु, व्यास र कथावाचकहरूको संलग्नतामा महायज्ञको गरिमा अझै बढेको थियो। कथा वाचनमा भागवत मञ्जरी राधिका दासी, देवी प्रतिभा, अनुराधा पाण्डे, प्रशान्त कृष्ण परांकुश, दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज लगायत सहभागी थिए।
समापनसँगै राधिका दासीको भव्य बिदाइ गरिएको थियो। उनले जेठ १७ देखि ३१ गतेसम्म श्रीमद्भागवत कथा वाचन गरेकी थिइन्। भक्तजन दासीको बिदाइमा भावविह्वल बनेका थिए।



































