पोखरा, २९ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उद्घोषणको माध्यमबाट दुई भाइको चर्चा चुलिएको छ। कार्यक्रम सञ्चालनमा अद्वितीय क्षमता देखाएका कोष भारद्वाज र दीप काफ्लेले आफ्नो कोकिल स्वर र सहज अभिव्यक्तिको माध्यमबाट भक्तजनको मन जितिरहेका छन्।

बिहानको समयमा दीप काफ्ले र मध्यान्हपछि कोष भारद्वाजले कार्यक्रम सञ्चालन गर्दै आएका छन्। लगातार उद्घोषण गर्दा पनि उनीहरूको स्वरमा कुनै थकान देखिँदैन। उनीहरू उद्घोषण मात्र होइन, सबै उमेर समूहका भक्तजनहरूसँग आत्मीयता पूर्वक घुलमिल हुन सक्ने गुणले पनि परिचित छन्। उनीहरूको उद्घोषण शैलीले कोटिहोमको वातावरणलाई झनै भक्तिपूर्ण बनाइदिएको छ।

कोष भारद्वाज सल्यानको काल्चेमा जन्मिएर हाल बाँकेको कोहलपुरमा स्थायी बसोबास गर्दै आएका छन्। २०६८ सालदेखि रेडियो कोहलपुर एफएमबाट उद्घोषण यात्रा सुरु गरेका उनीले विभिन्न धार्मिक तथा शैक्षिक महोत्सवमा उद्घोषण गरिसकेका छन्। वैदिक सनातन धर्मको जागरणमा महत्वपूर्ण भूमिका खेलेका भारद्वाजलाई धेरै संघसंस्थाबाट सम्मानसमेत प्राप्त भइसकेको छ। आजै उनको जन्मदिन रहेको अवसरमा महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले माला लगाएर शुभकामना दिएका थिए।

त्यस्तै, नवलपुरको कावासोतीमा जन्मेका दीप काफ्लेले बाल्यकालदेखि नै भजन गाउने र अभिनय गर्ने प्रतियोगितामा सहभागी भई आफूलाई कलात्मक भूमिकामा प्रस्तुत गर्दै आएका छन्। भागवत कथा, धनधान्याञ्चल जस्ता धार्मिक कार्यक्रमहरूमा उनले गायन, उद्घोषण र अभिनय गर्दै देशका विभिन्न जिल्लामा परिचय बनाएका छन्। संगीत क्षेत्रमा पनि रुचि राख्ने दीपले हार्मोनियम, मादल, खैजेडी लगायतका वाद्ययन्त्रमा दक्षता हासिल गरेका छन्। साथै, उनले केही म्युजिक भिडियोमा पनि अभिनय गरेका छन्।

महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिजी महाराज स्वयंले पनि यी दुई उद्घोषकद्वयको तारिफ गर्दै कोटिहोमलाई उनीहरूको उद्घोषण कलाले थप उचाइ दिएको बताएका छन्। दुई महिनादेखि निरन्तर उद्घोषण गर्दै आएका कोष र दीप अहिले भक्तजनबीच प्रशंसा र प्रेरणाका पात्र बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0