पोखरा, २९ जेठ। भारतको अहमदाबादबाट लण्डनको ग्याटविक विमानस्थलतर्फ उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर ‘फ्लाइट एआई१७१’ बिहीबार बिहान दुर्घटनामा परेको छ। विमान उडेको केही मिनेटमै गुजरातको मेघानी क्षेत्रमा खस्दा विमानमा सवार २३० यात्रु र १२ चालक दलका सदस्य गरी २४२ जनाको ज्यान जोखिममा परेको छ। लामो दूरीको उडानका लागि भरिएको इन्धनका कारण दुर्घटनापछि ठूलो आगलागी भएको बताइएको छ।

दुर्घटनापछि सामाजिक सञ्जालमा बोइङ कम्पनीको सुरक्षा र भरपर्दोपनामा गम्भीर प्रश्न उठेका छन्। विशेषगरी विगतमा बोइङका ७३७ म्याक्स विमानसँग सम्बन्धित दुइटा ठूला दुर्घटनाको स्मरण गर्दै प्रयोगकर्ताहरूले आफ्नो डर र आक्रोश सार्वजनिक गरिरहेका छन्। बोइङ कम्पनीका शेयर मूल्यमा पनि ८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

यो घटना बोइङ ७८७ ड्रीमलाइनर परिवारमा पर्ने पहिलो दुर्घटना हो। सन् २०११ देखि सेवा सुरु गरेको यो विमान हालसम्म तुलनात्मक रूपमा सुरक्षित मानिँदै आएको थियो। यद्यपि, सुरुका दिनमा यसमा प्रयोग भएका लिथियम–आयन ब्याट्रीमा आगलागीको समस्या देखिएपछि सन् २०१३ मा विश्वभरका ड्रीमलाइनरहरूलाई अस्थायी रूपमा ग्राउन्ड गरिएको थियो। पछिल्ला वर्षहरूमा पनि केही विमानमा हाइड्रोलिक लिक, फ्ल्यापको समस्या र आकस्मिक अवतरण जस्ता समस्याहरू देखा परेका थिए।

अप्रिल २०२४ मा बोइङका पूर्व इञ्जिनियर साम सालेहपुरले ड्रीमलाइनर र ७७७ मा गम्भीर संरचनागत त्रुटि भएको आरोप लगाउँदै अमेरिकी उड्डयन प्राधिकरणमा उजुरी दिएका थिए। उनले उत्पादन प्रक्रियामा खतरनाक छोटो बाटो अपनाइएको र आफूमाथि चासो राख्दा अर्को विभागमा सरुवा गरिएको दाबी गरेका थिए।

एयर इन्डियाले सन् २००६ मा बोइङसँग गरेको सम्झौताअनुसार २७ वटा ७८७–८ ड्रीमलाइनर खरिद गरेको थियो। यी विमानहरू लन्डन, उत्तर अमेरिका र मध्यपूर्वजस्ता गन्तव्यमा सञ्चालन भइरहेका थिए। दुर्घटनापछि भारतको आकाशमा यस्ता विमानको सुरक्षामा फेरि बहस सुरु भएको छ। यो दुर्घटना एयर इन्डिया मात्र नभई बोइङ ७८७ को प्रतिष्ठाका लागि पनि निर्णायक मोड बन्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0