पोखरा, २७ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्णाहुतिपछि भक्तजनले आजदेखि जलसहितको कलश घर लैजान थालेका छन्। यज्ञ स्थलमा विधिपूर्वक पूजापाठ गरिएका कलशहरू आजदेखि भक्तजनलाई वितरण सुरु गरिएको हो।
मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार हालसम्म ५ हजार भन्दा बढी कलश बुकिङ भइसकेका छन्। भक्तजनहरूले पूर्व बुकिङ गरिएको कलशको साथै आज नै पैसा तिरेर पनि जल सहितको कलश ग्रहण गरेका छन्। एकवटा कलशको मूल्य १ हजार ३ सय र दुईवटा कलश लिएमा २ हजार ५ सय रुपैयाँ लाग्ने व्यवस्था गरिएको कलश यात्रा संयोजक दुर्गा कसीले जानकारी दिइन्।
गत वैशाख १६ गते पोखरामा गंगाजल सहितको विशाल कलश यात्रा निकालेर यज्ञ स्थलमा स्थापना गरिएको थियो। आजको दिन कोटिहोम परिसरमा जल सहितको कलश लिएर जाने भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। सोही अवसरमा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भक्तजनलाई कोटिहोमको प्रसादस्वरूप नरिवल र स्याउ वितरण गरेका थिए।
महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार आजैदेखि तिलक र भष्म वितरण गरिने भनिए पनि होमन स्थलको इट्टा अत्यधिक तातो भएका कारण भोलिदेखि मात्रै भष्मसहित प्रसाद वितरण गरिनेछ। साथै १ सय रुपैयाँ तिरेर हवन कुण्डमा राखिएका इट्टा पनि भक्तजनले घर लैजान पाउने व्यवस्था गरिएको छ।
कोटिहोममा भक्तजनहरूको धार्मिक आस्थासँगै सेवा भाव पनि उल्लेख्य देखिएको छ। मधव प्रसाद कडेल, अन्जु कुमारी कडेलले २५ हजार ५ सय ५५, सुर्य प्रसाद पौडेल र विष्णु कुमारी पौडेलले २५ हजार १ सय २५, सकुन्तला, राजकुमार र समिक्षा गिरीले १५ हजार १ सय ५ तथा संगिता थापाले ७ हजार ५ सय ५ रुपैयाँ कोटिहोममा सहयोग गरेका छन्।
यसैबीच, गत वैशाख २० गतेदेखि सुरु भएको रक्तदान कार्यक्रममा हालसम्म ८ सय ८ जनाले रक्तदान गरिसकेको रक्तदान संयोजक तुलसी दाहालले जानकारी दिएका छन्। रक्तदान कार्यक्रम जेठ ३१ गतेसम्म जारी रहनेछ।
कोटिहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर र आसपासको स्थानीय जग्गामा सञ्चालन भइरहेको छ। महायज्ञको समापन कार्यक्रम जेठ ३१ गतेका लागि तय गरिएको छ।































