पोखरा, २७ जेठ। पोखरा वडा नं. ९, शान्तिवनवाटिका स्थित पोखरा बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) अन्तर्गतको ‘गुणस्तर प्रत्याभूति तथा प्रत्यायन’ (क्युएए) प्रमाणपत्र प्राप्त गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित सामुदायिक क्याम्पसले निर्धारित सबै मापदण्ड पूरा गर्दै क्युएए प्रक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो।
पत्रकार सम्मेलनमार्फत क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्युएए प्रमाणपत्रले क्याम्पसलाई शैक्षिक, प्रशासनिक, भौतिक तथा सामाजिक पक्षहरूमा अझ सुदृढ, पारदर्शी र उत्तरदायी बन्न प्रेरणा दिएको बताइन्। उनले क्याम्पसको भविष्यको योजना अन्तर्गत शैक्षिक वातावरण सुधार, सूचना प्रवाहको पारदर्शिता, दक्ष जनशक्ति निर्माण, नविन प्रविधिको प्रयोग तथा नेतृत्व व्यवस्थापनलाई सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाइन्।
वि.सं. २०४४ सालमा टुँडिखेलस्थित राष्ट्रिय माविको भवनबाट सुरु भएको क्याम्पस अहिले आफ्नै भवनमा सञ्चालन भइरहेको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अगुवाइमा ५० लाख रुपैयाँको सहयोगमा भवन निर्माण सम्पन्न गरिएको हो। पोखरा महानगरपालिकाबाट उपलब्ध गराइएको जग्गामा चन्दादाताको सहयोगले निर्माण सम्पन्न गरिएको क्याम्पसका उपाध्यक्ष बद्री श्रेष्ठले जानकारी दिए।
आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजक प्राध्यापक महेन्द्र रिमालका अनुसार क्युएए प्रमाणपत्रले यहाँ अध्ययनरत विद्यार्थीको सर्टिफिकेटलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले मान्यता दिनेछन्। उनले क्याम्पसले व्यावसायिक शिक्षाका साथसाथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गर्दै आएको बताए।
क्याम्पसले वातावरण संरक्षण, महिला सशक्तीकरण, साइबर सुरक्षा, लैंगिक समानता, जीवनोपयोगी सीप, नेतृत्व विकास लगायत विविध सामाजिक मुद्दामा जिल्लास्तरीय कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, खेलकुद क्षेत्रमा पनि फुटबल लगायतका खेलहरूमा छात्र–छात्राको सहभागिता हुँदै आएको प्राध्यापक भीमप्रसाद न्यौपानेले जानकारी गराए।
क्याम्पसले स्नातक तहमा मानविकी तथा व्यवस्थापन संकायको पढाइ गर्दै आएको छ भने चाँडै नै BBA, BIM र BIT कार्यक्रम सुरु गर्ने तयारीमा रहेको क्याम्पस प्रमुख पराजुलीले बताइन्। उनले क्युएए प्रमाणपत्रलाई कुनै गन्तव्य नभई निरन्तर गुणस्तर सुधारको यात्राको महत्वपूर्ण उपलब्धि भनेर व्याख्या गरिन्।




























