पोखरा, २२ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आजसम्म झन्डै ६ करोड रुपैयाँ संकलन भएको छ। महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले हालसम्म विभिन्न माध्यमबाट जम्मा ५ करोड ६९ लाख ७ हजार ५ सय ५५ रुपैयाँ संकलन भएको जानकारी दिए। उनका अनुसार नगद रसिद, क्युआर कोड, चेक, जिन्सी, भेटी, गोप्य दान तथा दानपेटिका लगायत विभिन्न श्रोतबाट रकम संकलन भएको हो।

कोटिहोममा राखिएका ११ हजार कलशमध्ये हालसम्म ४ हजार ४ सय ९ भक्तजनले कलश बुकिङ गरिसकेको जानकारी पनि उनले दिए। महायज्ञको आय-व्यय पारदर्शी रूपमा सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले पत्रकार सम्मेलनमार्फत अडिट सहित सम्पूर्ण विवरण खुलासा गर्ने बताए। उनका अनुसार कुनै पनि धर्मगुरुले यसअघि यस्तो खुला रूपमा आय-व्यय सार्वजनिक गरेको उदाहरण छैन।

भक्तजनको उत्साहजनक उपस्थिति र सहयोगका कारण महायज्ञको अवधि जेठ ३१ गतेसम्म थप गरिएको छ। महायज्ञमा सहभागिता बढिरहेकाले सञ्चालन स्थलमा दैनिक भक्तजनहरूको चाप बढ्दो छ। यसैबीच, अन्नपूर्ण गाउँपालिकाबाट १५ रोपनी र स्याङ्जाबाट करिब ३ रोपनी जग्गा दान गरिने जानकारीसमेत सार्वजनिक गरिएको छ। साथै, पोखराबाट आश्रम स्थापनाका लागि थप जग्गा दानको प्रतिबद्धता धार्मिक संघसंस्थाबाट प्राप्त भएको छ।

महायज्ञ प्रचार-प्रसार संयोजक लेखराज ढकालका अनुसार कोटिहोमको उत्तरार्धमा मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्ने भक्तजनको संख्या बढ्दै गएको छ। फाउन्डेसनमा रहेका अनाथ बालबालिकाको अभिभावक बन्ने, शिलालेखमा नाम लेखाउने र आजीवन सदस्य बन्ने अवसर उपलब्ध गराइएको छ। आज चर्चित लोक दोहोरी गायक खुमन अधिकारीको भजन प्रस्तुति रहेको थियो भने विश्व वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम पनि सम्पन्न गरिएको छ।

महायज्ञका संकल्पकर्ता श्री विजय कृष्णमूर्तिजी महाराजले पोखरा पछि देशका सातै प्रदेशमा कोटिहोम सञ्चालन गर्ने घोषणा गरेका छन्। कोसी, मिथिला, लुम्बिनी, गोदावरी, कर्णाली, चितवन हुँदै काठमाडौंसम्म महायज्ञको श्रृंखला सञ्चालन हुने जनाइएको छ। आगामी २०८४ को साउन–भदौमा काठमाडौंमा १००८ कुण्डीय विराट ज्ञान महायज्ञ गरिनेछ। साथै, देशभरका तीर्थस्थलहरूमा १०८ भागवत महापुराण, हवन, रुद्राभिषेकलगायत कार्यक्रमहरू सञ्चालन गरिने योजना रहेको जनाइएको छ।

कोटिहोम पोखरा–१७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसर र आसपासका स्थानीय जग्गामा सञ्चालन भइरहेको छ, जसको समापन २०८२ सालको जेठ ३१ गते हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0