पोखरा, २२ जेठ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना गर्दै फेवातालको बीचमा अवस्थित तालबाराही मन्दिरमा १ हजार ८ नरिवल अर्पण गरिएको छ। कोटिहोमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले महायज्ञको पूर्णता, सफलता र आध्यात्मिक उन्नतिको कामनासहित तालबाराही मातालाई नरिवल अर्पण गर्ने संकल्प गरेका थिए, जसअनुसार आज उक्त विधि सम्पन्न भएको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए।

महायज्ञको प्रमुख आकर्षणका रूपमा जेठ २४ गते २१ करोड दीप प्रज्वलन कार्यक्रम तय गरिएको छ। यस अवसरमा बालयोगेश्वरले प्रत्येक भक्तजनलाई आफ्नै घरबाट ज्योति लिएर कार्यक्रमस्थलमा उपस्थित भई दीप प्रज्वलनमा सहभागी हुन अनुरोध गरेका छन्। उनले यो महान आध्यात्मिक यात्रामा सहभागी हुन आग्रह गर्दै यसलाई जीवनमै दुर्लभ अवसरको संज्ञा दिएका छन्।

कोटिहोममा प्रयोग भएका सयवटा कुण्डमा राखिएका इँटा लैजान चाहने भक्तजनलाई आयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ। कोटिहोम अहिले साधु–सन्त, व्यास तथा कलाकारहरूको विशेष उपस्थिति र सहभागिताका कारण आध्यात्मिक वातावरणले भरिएको छ। आज चर्चित लोक गायक खुमन अधिकारीले भजन प्रस्तुत गर्ने कार्यक्रम छ भने भागवत मञ्जरी राधिका दासीले निरन्तर कथा वाचन गरिरहेकी छन्। उनले आगामी जेठ २६ गतेसम्म कथा वाचन गर्नेछिन्।

महायज्ञमा देशविदेशबाट आएका साधु, सन्त र महन्तहरूको उपस्थिति उल्लेखनीय देखिएको छ। अनुराधा पाण्डेद्वारा प्रवचनीय श्रीमद्भागवत कथा आरम्भ भइसकेको छ भने देवी प्रतिभा, प्रशान्त कृष्ण परांकुश, दिनबन्धु पोखरेल लगायतका अन्तर्राष्ट्रियस्तरका कथावाचकहरूले समेत प्रवचन दिइसकेका छन्। आज पं. दीप किशोर भट्टराई नारायण कृष्णले पनि प्रवचन दिएका छन्।

कोटिहोममा रक्तदान कार्यक्रम पनि निरन्तर सञ्चालनमा छ। त्यस्तै तुला दान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणदेखि लिएर विभिन्न विशेष पूजाआजा, व्रत उद्यापन, पाठ–पारायण, दान र हवन अनुष्ठानहरू जारी छन्। मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाका अनुसार पारिवारिक सुख, पितृ उद्धार, शान्ति र समृद्धिका लागि २१ कोटी दीप प्रज्वलन, तुला दान, विविध पूजाका अवसरहरू खुला गरिएको छ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा तथा वरपरका स्थानीयको सहयोगमा सञ्चालन गरिएको कोटिहोम आगामी जेठ २६ गतेसम्म जारी रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0