पोखरा, २१ जेठ। निजामती कर्मचारी अस्पतालले नेपालमा पहिलो पटक ‘कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण’ सेवा सुरु गरेको छ। आज अस्पतालमा आयोजित एक कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले यस अत्याधुनिक उपचार सेवाको उद्घाटन गरे। उनले नयाँ प्रविधिबाट सुरु गरिएको यो सेवाले बिरामीहरूलाई थप सहज हुने विश्वास व्यक्त गरे।

मुख्यसचिव अर्यालले यो प्रविधि निजामती कर्मचारी अस्पतालका लागि कोसेढुङ्गा भएको र नेपालका अन्य अस्पतालमा यो प्रविधि नरहेको बताए। उनले अस्पताललाई नाम निजामती भए पनि सबै जनताका लागि उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए। अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले कम्प्युटर प्रविधिबाट घुँडाको जोर्नी प्रत्यारोपण गरी सेवा शुभारम्भ भइसकेको र अब हरेक सेवामा अत्याधुनिक उपचार पद्धति लागू गरिने जानकारी दिए।

घुँडाको जोर्नी प्रत्यारोपणमा सफल चिकित्सक डा. सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण नेपालमै पहिलो भएको बताए। उनका अनुसार यस प्रविधिले बिरामीलाई सहज र चाँडै निको हुन मद्दत पुग्छ। डा. मरहठ्ठाले घुँडा खिइएका, घुँडा बाङ्गिएका, चोटपटक लागेका र घुँडा बिग्रिएका बिरामीहरूलाई यस प्रविधिबाट उपचार गरिने स्पष्ट पारे। गत शनिबार र आइतबार गरी चार जना बिरामीको सफल प्रत्यारोपण गरिएको उनले जानकारी दिए। शनिबारको प्रत्यारोपणमा भारतीय चिकित्सकको सहयोग लिए पनि दोस्रो पटक दुई जनाको प्रत्यारोपण अस्पतालकै चिकित्सकले सफलतापूर्वक गरेका थिए। डा. मरहठ्ठाका अनुसार यो प्रत्यारोपणमा प्लास्टिक र मेटल सिमेन्टको सहायता लिइन्छ भने यस प्रविधिबाट हुने उपचारमा करिब तीनदेखि साढे तीन लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0