पोखरा, २१ जेठ। फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले इटालियन क्लब इन्टर मिलानलाई ५-० को प्रभावशाली नतिजामा पराजित गर्दै इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको उपाधि चुमेको छ। म्युनिखको अलियान्ज एरिनामा प्राप्त यो ऐतिहासिक जितसँगै पीएसजीले क्लब इतिहासमा पहिलो पटक ट्रेबल (तीनवटा मुख्य उपाधि) पनि हासिल गरेको छ। यो सफलता विशेषतः लियोनेल मेस्सी, नेयमार जुनियर र किलियन एम्बाप्पेजस्ता स्टार खेलाडीहरू क्लबबाट बाहिरिएपछि प्राप्त भएको हो, जसले फुटबल विश्वलाई अचम्ममा पारेको छ।

खासगरी, विश्वकप विजेता फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे यसै सिजनमा च्याम्पियन्स लिग जित्ने ठूलो योजनासहित पीएसजी छाडेर रियल मड्रिड गएका थिए। तर, उनी मड्रिडमा आफ्नो पहिलो सिजन उपाधिविहीन रहँदा पीएसजीले भने घरेलु लिग वान, कम्युनिटी शिल्डसहित चार उपाधि उचालेर कीर्तिमान रचेको छ। इन्टर मिलानमाथि ५-० को लज्जास्पद हार दिलाउने क्रममा पीएसजीका लागि डेसायर डूएले दुई गोल गरे भने अक्राफ हकिमी, ख्विचा क्वारात्सखेलिया र सेनी मायुलुले पनि गोलको खुसी मनाए।

पीएसजीको यो ऐतिहासिक जितपछि पूर्वखेलाडी एम्बाप्पेनेयमारले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै आफ्नो पूर्वक्लबलाई बधाई दिएका छन्। फाइनलको अन्तिम सिठ्ठी बजेको एक घण्टा नबित्दै एम्बाप्पेले इन्स्टाग्राममा, “ठूलो दिन अन्ततः आयो। क्लबको एकतासहितको विजय, बधाई छ पीएसजी,” भन्दै खुसी व्यक्त गरे। नेयमारले भने अझ छोटो शब्द प्रयोग गर्दै, “बधाई पीएसजी,” लेखेर पाँचवटा तालीको इमोजीमार्फत आफ्नो समर्थन जनाएका छन्।

यी दुवै खेलाडीलाई पेरिसमा एक सुनौलो युगको सुरुवात गराउने आशामा क्लबले भित्र्याएको थियो, जहाँ उनीहरूले लियोनेल मेस्सीसँग पनि खेले। तर, च्याम्पियन्स लिग उपाधि जित्न नजिक पुगे पनि २०२० को फाइनलमा बायर्न म्युनिखसँग १-० को पीडादायी हार सामना गर्न बाध्य भएका थिए। नेयमार, सन् २०१७ मा बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पीएसजी आएका थिए र सन् २०२३ मा साउदी क्लब अल हिलाल गए। उनले पीएसजीमा १३ वटा ट्रफी जिते पनि च्याम्पियन्स लिग उपाधि भने दिलाउन सकेनन्। यता, एम्बाप्पेले पीएसजीका लागि २५६ गोल गर्दै क्लबको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेर क्लब छाडेका थिए। यद्यपि, पीएसजीमा सफल नदेखिए पनि यी दुई खेलाडीले क्लबप्रति आफ्नो माया र सम्मान प्रदर्शन गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0