पोखरा १३, चैत्र । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। शपथ ग्रहण सम्पन्न गरेलगत्तै उनी औपचारिक रूपमा कार्यभार सम्हाल्न कार्यालय पुगेका हुन्, जहाँ केहीबेरमा उनले पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहसहित १४ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
शपथ ग्रहण समारोह धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न गरिएको थियो, जसमा हिन्दू परम्पराअनुसार बटुकहरूले स्वस्तिवाचन गरेका थिए भने बौद्ध परम्पराअनुसार लामाहरूले मंगलवाचन गरेका थिए। यसले नेपालको बहुसांस्कृतिक पहिचानलाई झल्काउने प्रयास गरिएको देखिएको थियो।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताका रूपमा शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलोपटक भएको बताइएको छ। साथै, मधेशी समुदायका व्यक्तिले पहिलोपटक नेपालको प्रधानमन्त्री बन्ने ऐतिहासिक उपलब्धि पनि यससँग जोडिएको छ।
काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका शाह संसदमा पहिलोपटक प्रवेश गर्दै प्रधानमन्त्री बन्न सफल भएका छन्। उनको उदयलाई नेपाली राजनीतिमा नयाँ अध्यायका रूपमा हेरिएको छ।































