पोखरा १३, चैत्र । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले १३ चैतमा राष्ट्रपति कार्यालय शीतलनिवासमा दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल द्वारा सम्पन्न उक्त शपथ ग्रहण समारोह परम्परा, संस्कृति र आधुनिक राजनीतिक परिवर्तनको संगमका रूपमा विशेष र स्मरणीय बनेको छ। विशेष रूपमा १–२–३–४ को संयोगमा तय गरिएको शुभ मुहूर्तमा शपथ ग्रहण गरिएको थियो, जसलाई अत्यन्त पवित्र र सकारात्मक समयका रूपमा हेरिएको छ।

समारोहलाई बहुसांस्कृतिक नेपालको प्रतिनिधित्व गर्ने गरी सजाइएको थियो। शपथअघि १०८ जना हिन्दू बटुकहरूले स्वस्ति वाचन गरेका थिए भने १०७ जना बौद्ध भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए। यसले हिन्दू र बौद्ध परम्पराको समन्वय प्रस्तुत गरेको थियो। साथै, सात जना ब्राह्मणहरूले शंखनाद गर्दा समारोह स्थल पवित्र ध्वनिले गुञ्जिएको थियो, जसले वातावरणलाई थप ऊर्जावान बनाएको थियो।

सांस्कृतिक झलक झल्काउन समारोह स्थलमा मिथिला आर्ट र किराती संस्कृति झल्काउने ‘सिलाम साक्मा’ राखिएको थियो, जसले नेपालको विविधतामाझ एकताको सन्देश दिन खोजेको स्पष्ट देखिन्थ्यो। समारोहमा भगवान शिव र पार्वतीको भेषमा प्रस्तुत दुई पात्रहरूले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई अझ गहिरो बनाएका थिए।

शपथ ग्रहण कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उच्च पदाधिकारीहरू, नव-निर्वाचित प्रतिनिधिसभा सदस्यहरू तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। शपथ लिँदा प्रधानमन्त्री शाह गम्भीर, संयमित र आत्मविश्वासपूर्ण देखिएका थिए, जसले उनको नेतृत्वप्रतिको अपेक्षालाई थप बल दिएको छ।

प्रधानमन्त्री शाहको राजनीतिक यात्रा पनि उत्तिकै रोचक र ऐतिहासिक छ। उनले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई ४९ हजार ६१४ मतले पराजित गर्दै संसदमा प्रवेश गरेका हुन्। यसअघि उनी काठमाडौं महानगरपालिकाका मेयर थिए र स्वतन्त्र उम्मेदवारका रूपमा २०७९ को स्थानीय तह निर्वाचनमा विजयी भएका थिए।

र्‍यापरबाट राजनीतिमा प्रवेश गरेका शाहको उदयलाई विशेष गरी युवा पुस्ता, विशेषतः ‘जेनजी’ पुस्ताको राजनीतिक चेतनाको प्रतीकका रूपमा हेरिएको छ। उनको विजय र प्रधानमन्त्रीमा नियुक्तिलाई नेपालको राजनीतिक परिवेशमा नयाँ युगको सुरुवातका रूपमा विश्लेषण गरिएको छ, जहाँ परम्परा र परिवर्तन सँगसँगै अघि बढ्ने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0