पोखरा ५, फागुन । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै चितवन निर्वाचन क्षेत्र नम्बर २ को राजनीतिक सरगर्मी निकै बढेको छ । विसं २०७९ यता तेस्रो पटक मतदानको तयारीमा रहेका यहाँका मतदाताहरू यसपटक निकै सचेत र विभाजित देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो उपनिर्वाचनमा भारी मतान्तरले जितेको यस क्षेत्रमा यसपटकको प्रतिस्पर्धा त्रिकोणात्मक वा बहुपक्षीय हुने संकेत देखिएको छ । एकातिर रविलाई “काम गर्न नदिइएको” भन्दै सहानुभूति राख्ने मतदाताहरूको एउटा ठूलो पङ्क्ति अझै पनि “घण्टी” प्रति वफादार देखिन्छ भने अर्कोतिर सामाजिक सेवामा सक्रिय मीना खरेलको उम्मेदवारीसँगै नेपाली कांग्रेसमा फर्किनेहरूको लहर पनि उत्तिकै बलियो देखिएको छ ।
पदमपुर र इच्छाकामना क्षेत्रमा भेटिएका धनबहादुर गुरुङ जस्ता मतदाताहरू रास्वपालाई अझै एक पटक मौका दिनुपर्ने तर्क गर्छन् । उनीहरूको बुझाइमा पुराना दलहरूले नियतवश रविलाई फसाएको र काम गर्ने वातावरण नदिएको भन्ने भाष्यले काम गरेको छ । काठमाडौंका मेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेपछि रास्वपाको अभियानमा थप ऊर्जा थपिएको स्थानीयको अनुभव छ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले यसपटक ७५ प्रतिशत मत ल्याउने लक्ष्य राखेको बताए पनि गत निर्वाचनमा गरिएका वाचाहरू जस्तै चितवनलाई आर्थिक राजधानी बनाउने र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने काम पूरा नभएकोमा केही मतदातामा असन्तुष्टि पनि व्याप्त छ । विशेषगरी भरतपुर महानगरपालिकाको वडा नम्बर ११ मा, जहाँ सबैभन्दा बढी मतदाता छन्, त्यहाँको चुनावी माहोलले समग्र नतिजामा ठूलो प्रभाव पार्ने देखिन्छ ।
नेपाली कांग्रेसले यसपटक अनुभवी सामाजिक अभियन्ता मीना खरेललाई मैदानमा उतारेपछि चुनावी समीकरणमा उल्लेख्य फेरबदल आएको छ । विगतमा रास्वपालाई मत दिएका धेरै महिला र युवा मतदाताहरू खरेलको व्यक्तित्व र उनले गरेका सामाजिक कार्यहरूबाट प्रभावित भएर फेरि “रुख” चिह्नमा फर्किने निर्णयमा पुगेका छन् । स्मृति मल्ल र कल्पना खड्का जस्ता युवा मतदाताहरू खरेलले महिला उद्धार र नागरिकता नहुनेहरूका लागि गरेको सहयोगका कारण उनलाई उपयुक्त विकल्प ठान्छन् । कांग्रेसभित्रको आन्तरिक एकता र गगन थापाको नेतृत्वले गर्दा पनि यसपटक कांग्रेस कार्यकर्ताहरूमा उत्साह देखिएको छ । उता नेकपा एमालेले ३६ वर्षीय युवा अस्मिन घिमिरेलाई उम्मेदवार बनाएर आफ्नो विरासत जोगाउने प्रयास गरिरहेको छ । घिमिरेले एमालेको पालामा भएका विकास निर्माणका कामहरूलाई मुख्य एजेन्डा बनाएका छन् ।
यसका साथै, दुई दर्जन कम्युनिस्ट घटकहरू मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार प्रताप गुरुङले पनि वामपन्थी मतलाई एकीकृत गर्ने दाबी गरेका छन् । उनले इच्छाकामनालाई ग्रामीण पर्यटकीय र कालिकालाई औद्योगिक नगरी बनाउने ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका छन् । विगतमा एमाले र कांग्रेस छोडेर रास्वपामा गएका कतिपय सक्रिय कार्यकर्ताहरू अहिले पुनः आफ्नै पुरानो पार्टीमा फर्कन थालेकाले रवि लामिछानेका लागि उपनिर्वाचन जस्तो सहज जित निकाल्न यसपटक चुनौतीपूर्ण देखिन्छ । मतदाताहरूको बदलिँदो मनोविज्ञान र उम्मेदवारहरूको व्यक्तिगत प्रभावले गर्दा २१ फागुनको नतिजा कसको पक्षमा जान्छ भन्ने कुरा अन्तिम समयको घरदैलो र चुनावी प्रचारले नै निक्र्योल गर्ने स्थानीय विश्लेषकहरूको भनाइ छ ।


































