पोखरा ४, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आयोगले आइतबार ६४ बुँदे विशेष निर्देशन जारी गरेको छ। आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म गरी कुल १५ दिनको अवधिमा मात्रै जुलुस, आमसभा, कोणसभा र घरदैलो जस्ता औपचारिक प्रचारप्रसारका कार्यक्रमहरू सञ्चालन गर्न पाउनेछन्। मतदान हुनुभन्दा ४८ घण्टा अगाडि अर्थात् फागुन १८ गते राति १२ बजेपछि ‘मौन अवधि’ सुरु हुने र सो समयपछि कुनै पनि माध्यमबाट चुनावी प्रचारप्रसार गर्न, सामग्री प्रकाशन गर्न वा सामाजिक सञ्जालमा प्रतिक्रिया दिन समेत पूर्ण रूपमा निषेध गरिएको छ। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आयोगले हातहतियार वा विस्फोटक पदार्थको प्रदर्शन, मतदातालाई डर, त्रास, धम्की वा सामाजिक बहिष्कार गर्ने जस्ता आपराधिक कार्यहरूमा कडा प्रतिबन्ध लगाएको छ।
आयोगको निर्देशनमा आर्थिक पारदर्शिता र प्रचार सामग्रीको प्रयोगमा विशेष कडाइ गरिएको छ। उम्मेदवारहरूले प्रचारका लागि ७५ ग्रामसम्मको कागजमा ३०० वर्ग इन्च क्षेत्रफल भएको एउटै रङको पर्चा मात्र प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ भने भित्ते लेखन, पोस्टर, ब्यानर र डिजिटल डिस्प्लेको प्रयोगमा रोक लगाइएको छ। आर्थिक कारोबारलाई पारदर्शी बनाउन २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोहीमार्फत खर्च गर्नुपर्ने र निर्वाचनको नतिजा सार्वजनिक भएको ३५ दिनभित्र खर्चको पूर्ण विवरण बुझाउनुपर्नेछ। यस्तै, सञ्चार माध्यमका लागि पनि मापदण्ड तोकिएको छ, जसअनुसार रेडियो र टेलिभिजनले एक पटकमा १ मिनेट र २४ घण्टामा बढीमा ४ पटक मात्र निर्वाचन विज्ञापन प्रसारण गर्न पाउनेछन्। सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी निर्वाचन प्रचार गर्न नपाइने र निर्वाचन आचारसंहिता उल्लंघन भएमा जोसुकैले उजुरी दिन सक्ने व्यवस्था गर्दै आयोगले स्थानीय प्रशासनलाई अनुगमनमा सक्रिय रहन निर्देशन दिएको छ।


































