पोखरा ४, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा सुरक्षाकर्मी र कर्मचारीहरूले कठिन भौगोलिक अवस्थाको सामना गर्नुपर्ने देखिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार सदरमुकाम जोमसोमबाट कतिपय मतदान केन्द्रहरू १०० किलोमिटरभन्दा बढीको दूरीमा रहेका छन्, जसका कारण निर्वाचन सामग्री पुर्याउन र मतदानपछि मतपेटिका सुरक्षित रूपमा फिर्ता ल्याउन निकै चुनौतीपूर्ण हुनेछ। विशेषगरी नेपाल–चीन सीमा नजिकै रहेका उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका केन्द्रहरू निकै दुर्गममा छन्। जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार ती स्थानमा पुग्न गाडीमै ६ देखि ७ घण्टा समय लाग्ने र मतदान सकिएपछि मतपेटिका गणनास्थलसम्म ल्याइपुर्याउँदा मध्यरात हुने अनुमान गरिएको छ।
यसपटकको निर्वाचनका लागि मुस्ताङका ५ वटा स्थानीय तहमा कुल ३९ वटा मतदानस्थल कायम गरिएको छ भने ११ हजार ३२८ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। लोमान्थाङ गाउँपालिकामा २ हजार ११ मतदाताका लागि ६ वटा मतदानस्थल तोकिएको छ भने लोमान्थाङ–२ को समजुङ मतदानस्थललाई छोसेरस्थित दिव्य माध्यमिक विद्यालयमा गाभिएको छ। त्यस्तै, लोघेकर दामोदरकुण्डमा ५ वडाका लागि १ हजार ५४२ र वारागुङ मुक्तिक्षेत्रमा २ हजार ८८५ मतदाता रहेका छन्। कोरला राजमार्गसँग जोडिएका क्षेत्रमा यातायातको केही सहजता भए पनि शाखा सडकमा रहेका मतदान केन्द्रहरूमा पुग्न र सुरक्षा व्यवस्था मिलाउन भौगोलिक दुरी र मौसम मुख्य बाधकका रूपमा रहेका छन्।


































