पोखरा १, फागुन । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा एड्स हेल्थकेयर फाउण्डेसन (एएचएफ) नेपालले पोखरामा सञ्चारकर्मीहरूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र, गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजित उक्त कार्यक्रममा सुरक्षित यौन व्यवहार र कण्डमको सही प्रयोगबारे जनचेतना फैलाउन सञ्चारमाध्यमको भूमिकामाथि चर्चा गरियो। सन् २०११ देखि नेपालमा पनि प्रणय दिवसको पूर्वसन्ध्यामा मनाउन थालिएको यो दिवसले युवापुस्तालाई यौनजन्य रोग र अनिच्छित गर्भधारणबाट बच्न प्रेरित गर्दै आएको छ। एएचएफ नेपालले विश्वव्यापी रूपमा ४९ देशमा आफ्नो सेवा विस्तार गरेको र नेपालमा सन् २००९ देखि नै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रसँग मिलेर प्रभावकारी कार्य गरिरहेको जानकारी गराइएको छ।

कार्यक्रममा दिइएको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा कण्डमको वितरण र प्रयोगको अवस्था निकै उत्साहजनक देखिएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्रका फोकल पर्सन लक्ष्मण बसौलाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै गण्डकी प्रदेशमा ९ लाख ५३ हजार थान कण्डम वितरण गरिएको छ। गत आर्थिक वर्षमा यो सङ्ख्या २२ लाख ६४ हजार रहेको थियो। पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले कण्डमलाई केवल परिवार नियोजनको अस्थायी साधनका रूपमा मात्र नभई यौनरोग निरोधक कवचका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो। यसै सिलसिलामा, एएचएफ नेपालले शुक्रबार पोखरामा १० वटा टोलीबीच कण्डम सम्बन्धी सन्देशमूलक गीत प्रतियोगिता समेत आयोजना गर्ने भएको छ। यस्ता सिर्जनात्मक कार्यक्रमले समाजमा व्याप्त संकुचित सोचलाई चिर्न र सुरक्षित स्वास्थ्य अभ्यासलाई प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0