पोखरा १, फागुन । पोखरा महानगरपालिकाले नगर क्षेत्रको सरसफाइ र वातावरणीय स्वच्छतालाई कायम राख्न आगामी आइतबारदेखि सार्वजनिक स्थानमा जथाभाबी फोहोर फाल्नेहरूलाई कडा कारबाही गर्ने घोषणा गरेको छ । महानगरले जारी गरेको पछिल्लो सूचना अनुसार, सडक, चोक वा अन्य सार्वजनिक स्थलमा फोहोर विसर्जन गरेको पाइएमा न्यूनतम ५ हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म जरिवाना गरिनेछ । झण्डै एक महिनादेखि थुप्रिएको फोहोर बिहीबार साँझदेखि उठाउन थालेको महानगरले शनिबारसम्म नगरका सबै क्षेत्र सफा गरिसक्ने लक्ष्य राखेको छ । फोहोर व्यवस्थापनका लागि महानगरले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएर काम गरिरहेको र यस प्रक्रियामा जनसहभागिता अपरिहार्य रहेको जनाएको छ ।

महानगरले फोहोर फाल्नेहरूको पहिचान गर्न सिसी क्यामेराको समेत प्रयोग गर्ने र दोषी पाइएमा उनीहरूको नाम सार्वजनिक पत्रपत्रिका, महानगरको फेसबुक पेज तथा वेबसाइटमा समेत प्रकाशित गर्ने नीति लिएको छ । शहरी सौन्दर्यीकरण र मानव स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई मध्यनजर गर्दै यो कठोर कदम चालिएको मेयर धनराज आचार्यको सचिवालयले स्पष्ट पारेको छ । पोखरा १४ स्थित बाच्छेवुडुवाको ल्यान्डफिल साइट विमानस्थल सञ्चालनका कारण बन्द भएपछि पोखरा ३२ को लामेआहालमा अस्थायी रूपमा फोहोर व्यवस्थापन गरिँदै आएको छ । बिहीबारदेखि साँझको समयमा फोहोर सङ्कलनका गाडीहरू बाक्लिएकाले, गाडी नआउँदासम्म फोहोर घरमै राख्न र सडकमा ननिकाल्न महानगरले नगरवासीलाई आग्रह गरेको छ । यसअघि बुधबार भएको सर्वदलीय बैठकमा राजनीतिक दलहरूले ७२ घण्टाभित्र फोहोर उठाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0