पोखरा १४, माघ। पोखरा महानगरपालिका वडा नम्बर २८, कालिकामा वि.सं. २०१६ सालमा स्थापना भएको ऐतिहासिक शैक्षिक संस्था श्री जनज्योति माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूको बृहत् भेला तथा पुनर्मिलन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ। जनज्योति मावि भूपू विद्यार्थी मञ्च, पोखरा–२८ को आयोजनामा आगामी माघ २४ गते शनिबार पोखरा–२६ स्थित नमस्ते पार्टी प्यालेसमा यो विशेष कार्यक्रम आयोजना हुन लागेको हो। विद्यालयको लामो इतिहासमा पहिलो पटक यति विशाल स्तरमा आयोजना हुन लागेको यस पुनर्मिलन तथा वनभोज कार्यक्रमलाई लिएर स्थानीय क्षेत्र तथा देश–विदेशमा रहेका भूपू विद्यार्थीहरूमा निकै उत्साह देखिएको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै जनज्योति मावि भूपू विद्यार्थी मञ्चका संयोजक कीर्तिबल्लभ त्रिपाठीले यो भेला सबै पुस्ताका विद्यार्थीहरूलाई एउटै सूत्रमा बाँध्ने र उनीहरूबीचको भावनात्मक सम्बन्धलाई पुनः जोड्ने एउटा ऐतिहासिक अवसर भएको बताउनुभएको छ। उहाँका अनुसार यो कार्यक्रम केवल सामान्य भेटघाट र रमाइलोमा मात्र सीमित रहने छैन, बरु यसले विद्यालयको सर्वाङ्गीण विकास र उज्ज्वल भविष्यसँग जोडिने एउटा सशक्त र दीर्घकालीन पहलको आधार तयार गर्नेछ।
संयोजक त्रिपाठीले पुस्तौँपुस्ताको सम्झना, अनुभव र अतुलनीय योगदानलाई एउटै साझा मञ्चमा समेट्दै जनज्योति स्कुलको गरिमा र महत्वलाई अझ उचो बनाउने लक्ष्य राखिएको प्रष्ट पार्नुभयो। कार्यक्रमलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्नका लागि मञ्चका सह–संयोजक श्याम प्रसाद तिमल्सेनाको संयोजकत्वमा ६ सदस्यीय आर्थिक तथा रजिस्ट्रेसन उप–समिति समेत गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। उक्त समितिमा राजेन्द्र अधिकारी, बालकृष्ण त्रिपाठी, शुक्रराज अधिकारी, मनोहरी पौडेल र सागर अधिकारी रहनुभएको छ। मञ्चका सचिव गुरु प्रसाद त्रिपाठीले विद्यालय स्थापनाकालदेखि हालसम्म यहाँ अध्ययन गरेका हजारौँ विद्यार्थीहरूबीच आपसी सद्भाव, भाइचारा र परिचय विस्तार गर्ने उद्देश्यले यो कार्यक्रमको रूपरेखा तयार पारिएको उल्लेख गर्नुभयो। लामो समयको अन्तरालपछि आफ्ना पुराना दौँतरीहरू भेटिने, विद्यालयका पुराना यादहरू ताजा गर्ने र आफ्ना जीवनका विभिन्न अनुभवहरू साटासाट गर्दा विद्यालयप्रतिको अपनत्व र सम्मान अझ सुदृढ हुने मञ्चको विश्वास रहेको छ।

मञ्चका सह–संयोजक श्याम प्रसाद तिमल्सेनाका अनुसार हालसम्म जनज्योतिमा अध्ययन गरेका सबै भूपू विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराउनका लागि औपचारिक पत्राचार, सामाजिक सञ्जालको व्यापक प्रयोग र प्रत्यक्ष सम्पर्कमार्फत सूचना प्रवाह गर्ने कार्यलाई तीव्रता दिइएको छ। कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू, आपसी परिचय कार्यक्रम, पुराना स्मरणीय क्षणहरूको चर्चा र विद्यालयको आगामी शैक्षिक तथा भौतिक योजनाका बारेमा बृहत् छलफल हुने कार्यक्रम तय गरिएको छ। यस कार्यक्रमले देश–विदेशका विभिन्न कुनामा रहेर विभिन्न पेसा, व्यवसाय र सेवामा संलग्न रहेका दक्ष जनशक्तिलाई आफ्नो जग र विद्यालयसँग पुनः जोड्ने अपेक्षा गरिएको छ। आगामी दिनमा भूपू विद्यार्थीहरूबीच नियमित सम्पर्क र सहकार्य कायम गर्दै विद्यालयको समग्र विकासमा टेवा पु¥याउने दीर्घकालीन उद्देश्य समेत मञ्चले अघि सारेको छ।
वि.सं. २०१६ सालमा स्थापना भएर २०२६ सालदेखि एसएलसी परीक्षामा सहभागी हुन थालेको यस विद्यालयले छ दशकभन्दा लामो समयदेखि कास्की जिल्लाको पूर्वी भेगमा शैक्षिक ज्योति छर्दै आएको छ। माछापुच्छ्रे हिमालको सुन्दर काखमा अवस्थित यो विद्यालय प्राकृतिक सौन्दर्य र शैक्षिक विशिष्टताका कारण जिल्लाकै एक प्रतिष्ठित संस्थाका रूपमा चिनिन्छ। आयोजकका अनुसार यस विद्यालयमा भर्ना भई बीचमै अध्ययन छोडेका र सफल रूपमा उत्तीर्ण भएका गरी करिब दुई हजार भूपू विद्यार्थीहरू यस ऐतिहासिक भेलामा सहभागी हुने अनुमान गरिएको छ। ग्रामीण परिवेशमा रहेर पनि गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको जनज्योति माध्यमिक विद्यालयले समाज रूपान्तरणमा खेलेको भूमिकालाई स्थानीयवासीले सधैँ उच्च प्रशंसा गर्ने गरेका छन्। अनुशासन, मिहिनेत र सामाजिक मूल्यमा आधारित शिक्षाकै कारण यहाँका उत्पादनहरू आज राज्यका महत्वपूर्ण अंगहरूमा सफल व्यक्तित्वका रूपमा स्थापित हुन सफल भएका छन्। तीन पुस्ताका एक हजारभन्दा बढी विद्यार्थीहरू एउटै थलोमा भेला हुने यो क्षण विद्यालयको इतिहासमै सुनौलो अक्षरले लेखिने विश्वास आयोजकले लिएका छन्।

































