पोखरा १४, माघ। साविक लेखनाथ नगरपालिका क्षेत्रका होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको साझा संस्था ‘होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथ’ को १८औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट सुरेश लामिछाने सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्। सोमबार सम्पन्न यस अधिवेशनले लामिछानेको नेतृत्वमा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। लामिछाने यसअघि संस्थाको महासचिवका रूपमा सक्रिय थिए। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, सचिवमा राजेन्द्र सुवेदी र कोषाध्यक्षमा मुक्ति सुवेदी चयन भएका छन्। त्यसैगरी, कार्यसमिति सदस्यहरूमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर रहेका छन्। करिब एक सयभन्दा बढी व्यवसायीहरू आबद्ध रहेको यस संस्थाको निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न दामोदरभक्त थापाको संयोजकत्वमा पूर्वअध्यक्षद्वय कृष्णप्रसाद तिमिल्सिना र अर्जुन लम्साल सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको थियो।
अधिवेशनका अवसरमा संस्थाले पर्यटन प्रवर्द्धनमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ। बेगनासताल किनारको माझिकुना क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न र प्रचारप्रसार गर्न उल्लेख्य भूमिका खेलेका सूर्य लामिछानेलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो। सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बेगनास क्षेत्रको विकासका लागि नयाँ अवधारणा अघि सार्दै बेगनासलाई ‘नयाँ पोखरा’ का रूपमा विकास गर्नुपर्नेमा जोड दिए। उनले पोखरा आउने पर्यटकहरूको बसाइ लम्ब्याउनका लागि सात तालको सहर लेखनाथका पर्यटकीय गतिविधिहरूलाई थप परिष्कृत र विविधीकरण गर्न आवश्यक रहेको बताए। कार्यक्रममा विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरूले बेगनास र आसपासका क्षेत्रको समग्र विकासका लागि निजी र सरकारी क्षेत्रबीच सहकार्य हुनुपर्ने धारणा राखेका थिए।
कार्यक्रममा पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी र पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल लगायतले बेगनास क्षेत्रको पर्यटन विकासका लागि स्थानीय स्तरबाट हुने प्रयासहरूमा ऐक्यबद्धता जनाएका थिए। निवर्तमान अध्यक्ष वीरभद्र कँडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तत्कालीन महासचिव सुरेश लामिछानेले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शक्तिश्री कोइरालाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नवनिर्वाचित अध्यक्ष लामिछानेले आफ्नो कार्यकालमा लेखनाथ क्षेत्रको होटल व्यवसायलाई थप मर्यादित बनाउँदै बेगनास क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है बेगनास’ जस्ता प्रवर्द्धनात्मक अभियानहरूलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।































