पोखरा १४, माघ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राजकाजी गुरुङले आफ्नो बलियो उम्मेदवारी प्रस्तुत गरेका छन्। राजनीतिमा ‘करण’ नामले परिचित गुरुङ नेपालको कम्युनिस्ट आन्दोलनका एक अनुभवी र निष्ठावान् नेताका रूपमा चिनिन्छन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका उनले तत्कालीन माओवादी सशस्त्र विद्रोहका क्रममा भूमिगत भएर पार्टी सङ्गठन विस्तार र आन्दोलनका विभिन्न मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजयी भई राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका गुरुङका लागि त्यसपछिका चुनावी परीक्षाहरू भने चुनौतीपूर्ण रहेका छन्।
पछिल्ला दुई निर्वाचनमा पराजयको सामना गरेका गुरुङ यसपटक कास्की १ बाट आफ्नो राजनीतिक भाग्य परीक्षा गर्दै नयाँ उत्साहका साथ मैदानमा उत्रिएका छन्। विसं २०७० मा पर्वतबाट र २०७४ को निर्वाचनमा कास्की २ (२) बाट प्रदेशसभा सदस्यमा पराजित भए पनि उनले जनताको सेवा र पार्टी कामलाई निरन्तरता दिँदै आएका छन्। यसपटकको उम्मेदवारी केवल संसद् यात्राका लागि मात्र नभएर संविधानलाई सही मार्गमा डोर्याउन, जनताको जीवनस्तरमा ठोस परिवर्तन ल्याउन र कास्की १ को प्रचुर प्राकृतिक स्रोत-साधनको समुचित प्रयोग सुनिश्चित गर्नका लागि भएको उनले दाबी गरेका छन्। उनले आफूलाई कुनै एक दलको मात्र नभई कास्की १ का सम्पूर्ण जनसमुदायको साझा प्रतिनिधिको रूपमा प्रस्तुत गरेका छन्।
कास्की क्षेत्र नम्बर १ को विकासका लागि स्पष्ट दृष्टिकोण राख्दै गुरुङले यहाँको प्राकृतिक सम्भावनालाई जनताको समृद्धिसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विशेषगरी यस क्षेत्रमा रहेका ऐतिहासिक तथा पर्यटकीय थलोहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने र स्रोतसाधनको वैज्ञानिक सदुपयोगमार्फत स्थानीयको जीवनमा परिवर्तन ल्याउने उनको मुख्य एजेन्डा रहेको छ। ‘हामीसँग असाध्यै सम्भावना छ तर यहाँका जनता ती स्रोतको सही सदुपयोगबाट वञ्चित छन्,’ उनले भनेका छन्। संविधानको रक्षा र विकासको मुद्दालाई प्रमुखताका साथ उठाएका गुरुङको यो चुनावी अभियानलाई कास्कीमा निकै चासोका साथ हेरिएको छ।
































