पोखरा १४, माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै जाँदा निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ। निर्वाचन आचारसंहिता विपरीतका गतिविधि र अभिव्यक्ति दिएको भन्दै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र स्वतन्त्र उम्मेदवार निकोलस भुसाललाई स्पष्टीकरण सोधेको हो। झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका बालेन शाहमाथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा घृणात्मक र मानहानिकारक टिप्पणी गरेको आरोप लागेको छ। उजुरीमा शाहले ओलीलाई बिना कुनै प्रमाण ‘७६ जना बच्चाको हत्यारा र आतंकवादी’ भन्दै गम्भीर र तथ्यहीन आरोप लगाएको उल्लेख गरिएको छ, जसलाई आयोगले लोकतान्त्रिक बहसको मर्म विपरीत ठहर्याएको छ।
यसैगरी, भक्तपुर क्षेत्र नम्बर २ का उम्मेदवार महेश बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोपमा स्पष्टीकरण सोधिएको छ। बालेन शाहले जनकपुरमा दिएको भाषणमा प्रयोग गरेको ‘छौरा’ शब्दलाई बस्नेतले गलत व्याख्या गरी साम्प्रदायिक विद्वेष फैलाउन खोजेको दाबी गरिएको छ। सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङलाई भने चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको र उनीहरूलाई पार्टीको टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण मागिएको छ। बालबालिकालाई राजनीतिक गतिविधिमा सामेल गराउनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन मानिन्छ।
त्यस्तै, रूपन्देही क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार निकोलस भुसाललाई दुई वटा चुनाव चिह्न प्रयोग गरी मतदातालाई भ्रमित पारेको विषयमा स्पष्टीकरण सोधिएको छ। उनले ‘जुत्ता’ लाई आफ्नो आइकोनिक चुनाव चिह्न भनी प्रचार गरेको पाइएको छ। आयोगले यी पाँचै उम्मेदवार सहित जानुका पाठकलाई समेत गरी कुल ७ वटा स्पष्टीकरण सोधेको छ। जानुका पाठकलाई उम्मेदवारहरूमाथि ‘हत्यारा र बलात्कारी’ जस्ता शब्द प्रयोग गरी घृणाजन्य टिप्पणी गरेको आरोप छ। आयोगले सबैलाई तीन दिनभित्र जबाफ पेश गर्न निर्देशन दिएको छ र चित्तबुझ्दो जबाफ नआए निर्वाचन ऐन अनुसार कारबाही हुने चेतावनी दिएको छ।































