पोखरा १४, माघ। जिल्ला प्रहरी कार्यालय झापाकी नवनियुक्त प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाभरको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन्। भर्खरै सरुवा भएर झापा आएकी एसपी खड्काले आज जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन सुरक्षा योजना र प्रहरीको तयारीबारे विस्तृत जानकारी गराएकी हुन्। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरिन्।
एसपी खड्काले निर्वाचनको समयमा उम्मेदवारहरूको सुरक्षालाई विशेष ध्यान दिइने बताउँदै सुरक्षा संवेदनशीलता र सम्भावित जोखिमको मूल्याङ्कनका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन्। “यदि कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा हामी आवश्यकता अनुसार तत्काल सुरक्षा उपलब्ध गराउँछौँ,” उनले स्पष्ट पारिन्। निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना थप सुरक्षाकर्मी परिचालन भइसकेको र उनीहरूलाई सडक, गाउँघर तथा संवेदनशील क्षेत्रहरूमा खटाइएको उनले बताइन्।
प्रहरी प्रमुख खड्काले नियमित गस्तीका क्रममा सुरक्षाकर्मीको उपस्थिति बढ्नुलाई सकारात्मक रूपमा लिन र कुनै पनि शङ्का नगर्न आग्रह गरिन्। उनले हराएका हतियारहरूको खोजी कार्यलाई तीव्रता दिइएको र ती हतियार निर्वाचन बिथोल्ने कार्यमा प्रयोग हुन नदिने सुनिश्चितताका लागि प्रहरी सक्रिय रहेको जानकारी दिइन्। झापाका २८५ मतदानस्थलमध्ये ९५ वटालाई ‘अति संवेदनशील’ वर्गीकरण गरिएको सन्दर्भमा प्रहरीले सूक्ष्म निगरानी र एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको छ।
































