पोखरा २०, पौष। बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको रिक्त रहेको उपाध्यक्ष पदमा मनोहरी पौडेल चयन भएका छन्। एशोसियसनको हालै सम्पन्न १४ औं अधिवेशनमा उपाध्यक्ष पदका लागि अन्यौल सृजना भएपछि संस्थाको विधान र जिल्ला प्रशासन कार्यालय कास्कीको कानुनी निर्देशनका आधारमा पौडेललाई यस जिम्मेवारीमा ल्याइएको हो। एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरका अनुसार, सुरुमा उपाध्यक्ष पदका आकांक्षी राजु केसीको उमेदवारी संस्थाको विधान प्रतिकूल देखिएकाले जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी र आदेश बमोजिम खारेज गरिएको थियो। सोही रिक्त स्थानमा एशोसियसनको विधान २०५६ को धारा ३१ ले दिएको अधिकार प्रयोग गर्दै कार्यसमितिले पौडेललाई उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा मनोनयन गरेको कुँवरले जानकारी दिनुभयो।

नवनियुक्त उपाध्यक्ष मनोहरी पौडेल पोखराको व्यावसायिक र सामाजिक क्षेत्रमा एक परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँले यसअघि एशोसियसनको प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसक्नुभएको छ भने हाल उहाँ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यको रूपमा समेत क्रियाशील हुनुहुन्छ। पौडेलको संलग्नता विभिन्न क्षेत्रमा विस्तारित छ; उहाँ त्रिलोकेश्वर शिव मन्दिर पोखरा २८ को अध्यक्ष, सुर्केमैदान सृजनशील क्लव कालिकाको संस्थापक अध्यक्ष र नेपाल पत्रकार महासंघ कास्कीको प्रदेश परिषद् सदस्य समेत हुनुहुन्छ। साथै, उहाँ पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहँदै नेपालय न्यूज डटकमको सह-सम्पादकका रूपमा कार्यरत हुनुहुन्छ। बहुआयामिक व्यक्तित्वका धनी पौडेलको चयनले एशोसियसनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ।

पदभार ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले आफू सदैव विधिको शासन र संस्थागत नियम कानुनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। निर्वाचनका क्रममा निर्वाचन समितिका संयोजकबाट आफूमाथि पूर्वाग्रह राखेर अन्यायपूर्ण व्यवहार गरिएको भए तापनि अन्ततः जिल्ला प्रशासन कार्यालयले विधान र न्यायको पालना गराएकोमा उहाँले आभार व्यक्त गर्नुभयो। पौडेलले आगामी कार्यकालमा संस्थाको नीतिगत विकास र बुद्ध विशाल बजारमा कार्यरत सम्पूर्ण व्यवसायीहरूको हकहितका लागि प्रतिवद्ध भएर काम गर्ने अठोट व्यक्त गर्नुभएको छ। यसअघि सम्पन्न अधिवेशनले बुद्धिबहादुर कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिसकेको छ, जसमा महासचिव थमनसिंह गुरुङ, सचिव शान्ति श्रेष्ठ, कोषाध्यक्ष गोविन्द दाहाल र अन्य सदस्यहरू निर्वाचित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0