पोखरा १७, पौष। पोखरा-८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं वार्षिक साधारण सभा मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ८ का पूर्व वडा अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले पशुपति मन्दिरलाई पोखराको एक पवित्र धामको रूपमा चित्रण गर्नुभयो। वि.सं. २०५५ सालमा राम जानकी पार्क हुँदै स्थापना भएको यस धार्मिक क्षेत्रले समाजका सबै वर्गलाई एकै ठाउँमा ल्याउने सन्देश दिएको स्मरण गर्दै उहाँले वर्तमान समयमा धार्मिक एकता अपरिहार्य रहेको बताउनुभयो। बिजुक्छेले बहुसंख्यक धर्मावलम्बीहरूले सबैलाई एकाकार बनाएर लैजानुपर्नेमा जोड दिँदै मानिसहरू पवित्र कार्यमा लागेमा मात्र मन्दिर धाउनुको सार्थकता रहने तर्क गर्नुभयो। साथै, उहाँले नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्पराका बारेमा सिकाउनु पर्ने दायित्व सबैको रहेको उल्लेख गर्नुभयो।

साधारण सभामा मन्दिरको दिगो विकास र शैक्षिक योगदानका विषयमा पनि छलफल भएको थियो। वडा सदस्य गोविन्द बरालले मन्दिरको सञ्चालन र व्यवस्थापनमा दाताहरूको ठूलो सहयोग रहेको उल्लेख गर्दै आगामी दिनमा कार्यविधि निर्माण गरेर शिक्षा अक्षयकोषलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने जानकारी दिनुभयो। यसैगरी, समितिका सल्लाहकार परशुराम बरालले प्रत्येक घर मन्दिर जस्तो हुनुपर्ने विचार व्यक्त गर्दै मन्दिरमा हुने अभेदभाव र शान्ति घर-घरमा पुगेमा मात्र समुन्नत समाजको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो। सभाले समितिका सचिव कृष्णहरि सिग्देलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको आर्थिक प्रतिवेदनलाई केही परिमार्जनसहित पारित गरेको छ। समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष बाबुराम पौडेल लगायत विभिन्न आजीवन सदस्यहरूले मन्दिरको चौतर्फी विकासका लागि आ-आफ्नो धारणा राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0