पोखरा ११, पौष। जापानका नौवटा प्रमुख कम्पनीहरूले विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री उत्पादनलाई थप प्रभावकारी र कम खर्चिलो बनाउन एक शक्तिशाली संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) स्थापना गर्ने घोषणा गरेका छन्। सन् २०२६ को अप्रिलदेखि सञ्चालनमा आउने यस परियोजनामा हिटाची, रिकोह र टोयोटा मोटर कर्पोरेसनसँग आबद्ध जेटीइकेटी (JTEKT) कर्पोरेसन जस्ता ठूला औद्योगिक संस्थाहरू सहभागी छन्। हाल ईभी ब्याट्री उत्पादनका लागि कच्चा पदार्थ प्रशोधनदेखि प्याक एसेम्बली सम्मका विभिन्न चरणहरू पार गर्न ५० भन्दा बढी कम्पनीहरूसँग समन्वय गर्नुपर्ने बाध्यता छ। यस जटिल प्रक्रियाका कारण डिजाइनदेखि उत्पादन सुरु हुन चारदेखि ६ वर्षसम्म लाग्ने गरेकोमा, यो नयाँ उपक्रमले उक्त समयलाई घटाएर दुईदेखि तीन वर्षमा झार्ने लक्ष्य राखेको छ।
ब्याट्री बजारमा चीन र दक्षिण कोरियाको बढ्दो वर्चस्वलाई चुनौती दिन जापानले यो रणनीतिक कदम चालेको हो। सन् २०१५ मा विश्व बजारको ५१.७ प्रतिशत हिस्सा ओगटेको जापानको उपस्थिति सन् २०२३ सम्म आइपुग्दा घटेर मात्र ७.६ प्रतिशतमा खुम्चिएको छ। चिनियाँ कम्पनीहरूको ६४.१ प्रतिशत र दक्षिण कोरियाको २१ प्रतिशत बजार हिस्साका बीच जापानले सन् २०३० सम्ममा आफ्नो हिस्सा २० प्रतिशतमा पुर्याउने राष्ट्रिय लक्ष्य निर्धारण गरेको छ। यसका लागि नयाँ कम्पनीले करिब १८ अर्ब येनको लगानीमा सन् २०२८ देखि ब्याट्री उत्पादनको एकीकृत मोडल तयार गर्नेछ, जसले उत्पादन लागत र समय दुवैमा उल्लेख्य बचत गर्ने अपेक्षा गरिएको छ। ब्याट्री उत्पादनलाई आर्थिक सुरक्षाको दृष्टिकोणले महत्वपूर्ण मानिएको हुनाले जापानी सरकारले पनि यस परियोजनामा अनुदान सहयोग उपलब्ध गराउने संकेत गरेको छ।































